काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार बेलुकी सम्पन्न पहिलो क्वालिफायरमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लगातार दोस्रोपटक फाइनलमा पुगेको हो ।
जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पाएको लुम्बिनीले १६.४ ओभरमा ४ विकेटको क्षतिमा १ सय ८ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । लुम्बिनीको लागि निरोशन डिकवेलाले अर्धसतक बनाए । उनले ३७ बलमा ७ चौका र २ छक्काको मद्दतमा ५९ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले २१ र दिलिप नाथले नटआउट १० रनको योगदान गरे ।
सुदूरपश्चिमको लागि थारिन्दु रत्नायाकेले दुई विकेट लिँदा स्कट कुगेलेइन र हेमन्त धामीले समान एक/एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५ रन बनाएको थियो । सुदूरपश्चिमको लागि दीपेन्द्र सिंह एरीले अर्धसतक बनाए । उनले ५१ बलमा ३ चौका र एक छक्काको मद्दतमा ५२ रन बनाए । यस्तै इशान पाण्डेले ३३ बल खेल्दै ३ चौकाको मद्दतमा २७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
लुम्बिनीको लागि रुबिन ट्रम्पलम्यान र शेर मल्लले समान दुई/दुई विकेट लिँदा किशोर महतो र अभिशेष गौतमले समान एक/एक गोल गरे ।
जितसँगै लुम्बिनी सिधैं फाइनलमा पुग्दा पराजित सुदूरपश्चिमले दोस्रो मौका पाउनेछ । अब सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा भोलि बुधबार काठमाडौं गोर्खाज र चितवन राइनोजबीच हुने इलिमिनेटरको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायरमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउनेछ ।
