काभ्रेपलाञ्चोक । बीपी राजमार्ग चौडा पारिने भएको छ । सदरमुकाम धुलिखेलदेखि नमोबुद्धको दाप्चा १ नं पुलसम्मको सडक थप चौडा पारिने भएको हो ।
सडक चौडा पार्न तीन अर्ब ७९ करोड ७८ लाख ५५ हजार ५०० स्रोत प्रस्ताव गरिएको जनाइएको छ । हाल भने मुख्य कालोपत्रे भागको चौडाइ सामान्यतया पाँच दशमलव ५ मिटर (इन्टरमिडियट : एक लेनभन्दा केही फराकिलो) रहेको छ । त्यसलाई १० मिटरसम्मको मुख्य कालोपत्रे बनाइने सडक डिभिजन कार्यालय, भक्तपुरले जनाएको छ ।
कार्यालयका अनुसार, चौडा पारिने सडकको लम्बाइ २० दशमलव ६ किलोमिटर छ । सडक चौडा पार्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।
प्रारम्भिक बातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम अन्तिम चरमा पुगेको उनको भनाइ छ । डीपीआर अनुसार तीन अर्ब ७९ करोड ७८ लाख ५०० लाग्ने खर्चका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्रोत प्रस्ताव गरिएको योगेशको भनाइ छ ।
कुल खर्च अनुमान अनुसार, सडक फराकिलो बनाउन प्रतिकिलोटिर १८ करोड ६ लाख लाग्ने भएको हो । “स्रोत सुनिश्चित भएपछि ठेक्का प्रक्रियामा गइनेछ, यसै वर्ष विस्तारको काम सुरु हुन्छ”, योगेशले भने ।
उनका अनुसार धुलिखेलदेखि भकुण्डेबेँसीसम्म सडक दायाँबाँयाका रुख कटान गर्नुपर्ने तथा मोड सुधारका लागि केही घरसमेत भत्काउनुपर्ने अवस्था रहेकाले काम सुरु गर्न ठेक्का प्रक्रियासँगै केही महिना लम्बिन सक्नेछ । काम सुरु गरिएको तीन वर्षभित्र सडक विस्तारको काम सम्पन्न हुने समय सीमा सम्झौतामा तोकिनेछ ।
सडक दायाँबाँया १५ मिटरभित्र बनेका संरचना तथा जग्गाको मु–आब्जा वितरण भइसकेको योगेशले बताए । हाल विस्तार गर्ने भनिएको उल्लेखित दुरीको सडक धुलिखेल, पाँचखाल, पनौती तथा नमोबुद्ध नगरका सडकखण्डमा पर्दछ । उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्र तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा पछिल्ला केही बर्षदेखिको बाढी–पहिरोले क्षतिग्रस्त केही नयाँ पुनर्निमाण हुने खण्डलाई भने विस्तार गरेर नाला र ढलसहित ११ मिटर (मुख्य कालापत्रे भाग सात मिटर) बनाउने योजनासहितको काम बढाइएको कार्यालयले जनाएको हो ।
