काठमाडौं । सरुवा प्रक्रियामा पारदर्शिता नअपनाइएको भन्दै उजुरी परेपछि भन्सार विभागअन्तर्गतका २७२ कर्मचारीको सरुवा निर्णय रद्द गरिएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशनपछि विभागले यसअघि गरेको सरुवा निर्णय फिर्ता लिएको हो । भन्सार विभागले गत कात्तिक २० गते ६९ जना अधिकृत र २०३ जना नायब सुब्बालाई विभागअन्तर्गतका विभिन्न कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।
तर, उक्त निर्णय पारदर्शी र न्यायोचित नभएको भन्दै उजुरी परेपछि अर्थमन्त्री वाग्लेले सोमबार सरुवा रद्द गर्न मन्त्रालय र विभागका अधिकारीलाई निर्देशन दिएका थिए । मन्त्री वाग्लेले सरुवा प्रक्रियामा गम्भीर प्रश्न उठेको भन्दै पुरानो निर्णय तत्काल खारेज गरी पारदर्शी तथा प्रविधिमैत्री प्रणालीमार्फत नयाँ प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।
उनको निर्देशनलगत्तै निमित्त अर्थसचिव डा. सुमन दाहालले भन्सार विभागलाई लिखित पत्र पठाएका थिए । मन्त्रालयको पत्र प्राप्त भएपछि विभागले कात्तिक २० गतेको सरुवा निर्णय रद्द गरेको जनाएको छ ।
