काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री बालेन साहको आसन्न भारत भ्रमणका क्रममा नेपाल–भारतबीच लामो समयदेखि थाँती रहेका मुद्दा समाधानलाई प्राथमिकता दिन सुझाव दिएका छन्।
उनले दुई देशबीचको मित्रता प्रगाढ बनाउने र सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेजस्ता अमूर्त विषयभन्दा राष्ट्रिय हितसँग जोडिएका ठोस मुद्दामा केन्द्रित हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत रिजालले नेपाल र भारतबीच विभिन्न विषयमा समस्या तथा असमझदारी कायम रहेको उल्लेख गरेका छन्। सबै मुद्दा एकैपटक समाधान नहुने भएपनि नेपालले आफ्नो राष्ट्रिय हितका विषय वार्तामा उठाउन छाड्न नहुने उनको भनाइ छ।
उनले भनेका छन्, ‘प्रधानमन्त्रीको भारत भ्रमण ‘दुई देशबीचको मित्रता प्रगाढ बनाउन’, ‘नयाँ उचाइँमा पुर्याउन’ जस्ता अमूर्तताका लागि आवश्यक छैन । नेपाल र भारतका बीचमा केही मुद्दाहरु थाँती छन्, जसको समाधानबाट दुई देशबीचको सम्बन्ध स्वतः थप प्रगाढ भइहाल्छ । निःसन्देह दुई देशबीचको सम्बन्ध बहुआयमिक छ, धेरै विषय जोडिएका छन् । सबै विषय एकै पटक समाधान भइहाल्छन् र फेरि कुनै कुरा उठ्दैनन् भन्ने होइन । तर, नेपालले आफ्नो राष्ट्रिय हितका विषयहरु वार्ताका क्रममा उठाउन छाड्दा विषय नै छाडेको अर्थ लाग्ने भएकोतर्फ प्रधानमन्त्रीको विशेष ध्यान जानुपर्छ ।’
रिजालले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्रीले संसद्मा प्रतिनिधित्व गर्ने दल, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा सम्बन्धित विज्ञहरूसँग सुझाव र परामर्श लिनुपर्ने बताएका छन् । सबैको शुभेच्छा र सल्लाह लिएर भ्रमणमा जाँदा प्रधानमन्त्री कमजोर नभई थप बलियो हुने उनको तर्क छ ।
उनले भनेका छन्, ‘प्रधानमन्त्री सबैको हुन्छ र देशको प्रतिनिधित्व गरेर विदेश भ्रमणमा जाँदा सबै दलको शुभेच्छा र सल्लाह लिएर जाँदा कमजोर हुन्न, बलियो हुन्छ । तर, बालेन साहमा सामान्य लोकतान्त्रिक चरित्र, सामूहिक भावना र सस्थागत कार्यशैली नभएका कारण यी विषयहरुमा अपेक्षा हुने कुरा नै भएन । एउटा पार्टीको प्रतिनिधिमण्डल चीन जाँदा ‘यो गर्नू, त्यो नगर्नूृ’ भनेर सल्लाह/निर्देशन दिनुपर्ने रहेछ । तर, मुलुकको प्रधानमन्त्री भारत जाँदा संसद्मा भएका दलहरु, पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्री तथा विज्ञहरु कसैको सल्लाह नचाहिने रहेछ ।
