प्रधानमन्त्रीको भारत भ्रमणमा तीन नयाँ हवाई रुट र पोखरा–सुनौली फास्ट ट्र्याकलाई प्राथमिकता दिन मेयर आचार्यको माग

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका प्रमुख सहरमा सिधा हवाई सेवा सञ्चालन गर्ने विषयलाई प्राथमिकताका साथ उठाउन आग्रह गरेका छन्।

आचार्यले सिमराबाहेक थप तीनवटा हवाई प्रवेश रुट उपलब्ध गराउने विषयमा भारतसँग ठोस सहमति गर्नुपर्ने बताएका हुन्।
उनका अनुसार थप हवाई रुटको व्यवस्था भए पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न प्रमुख सहरमा सिधा उडान सञ्चालन गर्न सहज हुनेछ। यसले पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ।

त्यस्तै, आचार्यले पोखरा–सुनौली फास्ट ट्रयाक निर्माणलाई पनि प्रधानमन्त्रीको भारत भ्रमणको प्राथमिकताप्राप्त एजेन्डामा समावेश गरिएकोमा खुशी व्यक्त गरेका छन्।

यी दुवै विषयमा पारस्परिक सम्मान, समान अधिकार र असल छिमेकीको भावनाअनुसार ठोस सहमति हुनुपर्ने उल्लेख गर्दै उनले विगतमा जस्तै विभिन्न बहानामा निर्णय नटार्न आग्रह गरेका छन्।

प्रधानमन्त्रीको भारत भ्रमणबाट पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार र पोखरा–सुनौली फास्ट ट्रयाक निर्माणका विषयमा सकारात्मक तथा परिणाममुखी निर्णय हुने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *