घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

कास्की । तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन् । आन्तरिक पर्यटकको उल्लेख्य आगमनसँगै यी गाउँका होटल र घरबासमा पाहुनाको चाप बढेको छ । कतिपय पर्यटकले अग्रिम बुकिङ नगर्दा आवास पाउन कठिन भएको छ ।

अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने घान्द्रुकमा तिहारको भोलिपल्टदेखि पर्यटकको चहलपहल बढेको हो । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार अहिले दैनिक तीन हजार चार सयदेखि तीन हजार पाँच सयसम्म पर्यटक गाउँ पुगिरहेका छन् । पर्यटकको चापले होटलमा कोठा पाउन कठिन भएपछि समितिले अग्रिम ‘बुकिङ’ गरेर मात्र भ्रमणमा आउन आग्रह गरेको छ ।

घान्द्रुक पुग्नेमा अधिकांश आन्तरिक पर्यटक छन् भने भारतीय तथा अन्य मुलुकका पर्यटकको आगमन पनि भइरहेको छ । अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यका रूपमा रहेको घान्द्रुक अन्नपूर्ण आधार शिविर र पुनहिल–घोरेपानी पदमार्गमा पर्ने भएकाले पदयात्रीका लागि विश्रामस्थलसमेत हो ।

अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको मनोरम दृश्य, गुरुङ समुदायको मौलिक संस्कृति, गाउँले परिवेश र स्थानीय आतिथ्य घान्द्रुकका मुख्य आकर्षण हुन् । सडक पहुँच विस्तार भएपछि पछिल्लो समय आन्तरिक पर्यटकको आगमन थप बढेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । पर्यटन व्यवस्थापन समितिका अनुसार गाउँमा रिसोर्टसहित ८० होटल र ३५ घरबास सञ्चालनमा छन् ।

मादी गाउँपालिका–१ स्थित सिक्लेस गाउँमा पनि पर्यटकको चाप उस्तै छ । पर्यटक सूचना केन्द्रका अनुसार तिहारको भोलिपल्ट एक हजार तीन सय २४ जना पर्यटक सिक्लेस पुगेका थिए । एकैपटक ठूलो सङ्ख्यामा पर्यटक आउँदा होटल व्यवस्थापनमा कठिनाइ भएको स्थानीय व्यवसायीले बताएका छन् ।

नमस्ते गेस्ट हाउसका सञ्चालक झरना गुरुङका अनुसार होटल आइतबारसम्मका लागि बुकिङ भइसकेको छ । नयाँ पाहुनालाई कोठा उपलब्ध गराउन कठिन भएपछि पर्यटकलाई होटलको अवस्था बुझेर अग्रिम बुकिङ गर्न आग्रह गरिएको उनले बताए ।

हिमालको काखमा अवस्थित सिक्लेस प्राकृतिक सौन्दर्यसँगै गुरुङ संस्कृति र परम्पराका लागि परिचित छ । एकै बान्कीका ढुङ्गा र जस्ताका छाना भएका घर, ढुङ्गे आँगन र बाटा, पुराना शैलीका झ्यालढोका तथा साँघुरा गल्लीले गाउँको मौलिक पहिचान झल्काउँछन् । मादी खोला, हरियाली वनपाखा र हिमाली दृश्यले जोकोही मन्त्रमुग्ध हुन्छन् ।

गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, मौलिक भेषभूषा, नाचगान र स्थानीय परिकार यहाँका थप आकर्षण हुन् । सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या पनि बढेको स्थानीय व्यवसायी बताउँछन् । दुई दशकअघि सामुदायिक घरबासबाट सुरु भएको यहाँको पर्यटन व्यवसाय अहिले होटल र घरबाससम्म विस्तार भएको छ ।

पोखरा महानगरपालिकासँग जोडिएको माछापुच्छ्रे गाउँपालिका–८ को ल्वाङ गाउँमा पनि पर्यटकको आगमन बढेको छ । तिहारको भोलिपल्टदेखि होटल र घरबासमा पाहुना भरिएपछि व्यवस्थापनमा कठिनाइ भएको ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिकी निवर्तमान अध्यक्ष मञ्जु गुरुङले बताइन् ।

२०६७ सालमा सात घरबाट सुरु भएको ल्वाङको घरबास व्यवसाय अहिले २६ घरमा विस्तार भएको छ । यहाँका घरबासमा एकै रातमा ४०० सम्म पाहुनालाई आवासको व्यवस्था गर्ने क्षमता छ । प्रकृति र गुरुङ संस्कृतिको अनुभव लिन चाहने पर्यटकका लागि ल्वाङ लोकप्रिय गन्तव्य बन्दै गएको छ ।

समुद्र सतहबाट एक हजार ४०० मिटर उचाइमा रहेको ल्वाङबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलामा देखिने सूर्योदयको दृश्य आकर्षक मानिन्छ । गाउँको सिरानमा एक हजार २०० रोपनी क्षेत्रफलमा फैलिएको चियाबारी यहाँको अर्को प्रमुख आकर्षण हो । चियाबारी, गुरुङ संस्कार, रैथाने खाना र स्थानीय जीवनशैलीको अनुभव लिन स्वदेशी तथा विदेशी पर्यटक गाउँ पुग्ने गरेका छन् ।

ल्वाङमा पर्यटकले स्थानीय परिकार बनाउने तरिका, खेतीपाती र निगालोबाट डोको तथा सेखुजस्ता सामग्री बनाउने सीपबारे जानकारी लिन पाउँछन् । अन्नपूर्ण आधार शिविर र मर्दी पदमार्ग जाने पर्यटकले पनि यहाँ विश्राम गर्ने गरेका छन् । नजिकैको पोखरा क्यानोनिङ र घलेल गाउँले यस क्षेत्रको पर्यटकीय आकर्षण थपेका छन् ।

पोखराबाट घान्द्रुक, सिक्लेस र ल्वाङसम्म सडकबाट पुग्न सकिने भएकाले यी गाउँको भ्रमण सहज बनेको छ । प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, पदयात्रा र घरबासको अनुभवले यी गन्तव्य पर्यटकको रोजाइमा पर्दै आएका छन् । तिहार र छठको बिदासँगै बढेको पर्यटक आगमनले स्थानीय पर्यटन व्यवसायलाई चलायमान बनाएको छ भने पर्यटकको चाप व्यवस्थापन र पर्याप्त आवासको उपलब्धता चुनौतीका रूपमा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *