एनपीएलमा आज लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आज हुने लिगचरणको आफ्नो अन्तिम खेलमा लुम्बिनी लायन्स र  विराटनगर किंग्स खेल्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बेलुकी ५ बजे शुरु हुनेछ ।

आज हुने खेल दुवै टोलीको लागि महत्त्वपूर्ण रहेको छ । प्लेअफमा पुगिसकेको लुम्बिनी आज जित निकाल्दै शीर्ष स्थानमा रहेर लिगचरणको अन्त्य गर्न चाहन्छ भने विराटनगर प्लेअफमा पुग्ने सम्भावनालाई जीवित राख्न चाहन्छ ।

लुम्बिनी हाल ६ खेलबाट ९ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेलमा जित निकाल्न सकेको खण्डमा लुम्बिनी शीर्ष स्थानमा रहेर प्लेअफमा पुग्नेछ भने पराजित भएको खण्डमा पहिलो क्वालिफायर खेल्न अन्य टोलीको नतिजा पर्खिनु पर्नेछ ।

यता विराटनगरलाई आज जितको विकल्प छैन । आजको खेलमा विराटनगरले जित निकालेपनि काठमाडौं गोर्खाज र चितवन राइनोजको खेलको नतिजा पर्खिनुपर्नेछ । काठमाडौं  हाल ६ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा र चितवन समान ६ खेलबाट ७ अंक जोड्दै चौथो स्थानमा रहका छन् । फराकिलो जित निकाल्न सकेको खण्डमा विराटनगर तेस्रो स्थानमा उक्लिनेछ भने सामान्य जित निकालेको खण्डमा चौथो स्थानमा उक्लिनेछ । आज पराजित भएमा विराटनगरको गणितीय सम्भावनापनि समाप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *