बेइजिङ । अमेरिकी निर्यात प्रतिबन्धको सूचीमा रहेको चीनको एक विश्वविद्यालयले अमेरिकी प्रविधि कम्पनी एनभिडियाका दुई थान शक्तिशाली एआई चिप खरिद गरेको पाइएको छ। यसले चीनको उन्नत प्रविधिमा पहुँच रोक्ने अमेरिकी प्रयासमा कमजोरी रहेको देखाएको छ।
रोयटर्सका अनुसार चिनियाँ जनमुक्ति सेनासँग निकट सम्बन्ध रहेको नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीले गत महिना दुई थान एच२०० एआई चिप खरिद गरेको हो। विश्वविद्यालयको वेबसाइटमा अक्टोबर २१ मा प्रकाशित खरिद विवरणअनुसार ती चिपका लागि ८ लाख ७४ हजार ७०० युआन (करिब १ लाख २३ हजार अमेरिकी डलर) खर्च गरिएको छ।
अमेरिकी प्रतिबन्धमा रहेको उक्त विश्वविद्यालय चीनका ‘सेभेन सन्स अफ नेसनल डिफेन्स’ समूहका सात विश्वविद्यालयमध्ये एक हो। यी विश्वविद्यालयले चीन सरकारका लागि रक्षा तथा सैन्य अनुसन्धान गर्दै आएका छन्।
खरिद विवरणअनुसार विश्वविद्यालयले एनभिडियाबाट सीधै नभई सान्सी बोसुआन नेटवर्क टेक्नोलोजी नामक चिनियाँ कम्पनीमार्फत ती चिप खरिद गरेको हो। चिप विश्वविद्यालयको व्यवस्थापन संकायका लागि खरिद गरिएको उल्लेख छ।
एच२०० एनभिडियाले उत्पादन गरेका उन्नत एआई चिपमध्ये एक हो। यसको प्रयोग अत्याधुनिक एआई प्रणालीको विकास, तालिम र सञ्चालनमा गरिन्छ। अमेरिकी निर्यात नियन्त्रण नियमअनुसार यस्ता चिप चीनका प्रतिबन्धित संस्थालाई बिक्री गर्न विशेष अनुमति आवश्यक पर्छ। सामान्यतया त्यस्ता संस्थालाई निर्यात अनुमति दिइँदैन।
रोयटर्सले सार्वजनिक खरिद अभिलेखका आधारमा गरेको अनुसन्धानमा उक्त विश्वविद्यालयले यस वर्ष चिनियाँ कम्पनीहरूसँग पाँचवटा सम्झौता गरी एच२०० लगायत एनभिडियाका शक्तिशाली एआई प्रोसेसर प्रयोग गर्न कम्प्युटिङ क्षमता भाडामा लिएको पनि खुलेको छ।
यो खुलासा एनभिडिया र कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङले चीनमा एआई चिप बिक्रीसम्बन्धी अमेरिकी प्रतिबन्ध खुकुलो बनाउन गरेको लबिइङलाई लिएर वासिङ्टनमा आलोचना बढिरहेका बेला भएको हो।
ह्वाङले चीनमा अमेरिकी चिप बिक्री जारी राख्दा अमेरिकी प्रविधिको नेतृत्व कायम रहने र चिनियाँ ग्राहक अमेरिकी प्रविधिमै निर्भर रहने तर्क गर्दै आएका छन्। तर अमेरिकी सांसदहरूले एनभिडियाका शक्तिशाली चिपमा चीनको पहुँचले हतियार डिजाइन, गुप्तचर विश्लेषण र सैन्य आधुनिकीकरणमा कृत्रिम बुद्धिमत्ताको प्रयोग बढाउन सक्ने चिन्ता व्यक्त गरेका छन्।
अमेरिकी कंग्रेसका डेमोक्र्याट र रिपब्लिकन दुवै दलका सांसदले चीनको उन्नत एआई चिपमा पहुँच थप कडा रूपमा नियन्त्रण गर्न माग गर्दै आएका छन्। उनीहरूले चिप ट्र्याकिङ प्रणाली र निर्यातमाथि कंग्रेसको निगरानी बढाउनुपर्ने प्रस्तावसमेत अघि सारेका छन्।
यसैबीच, रिपब्लिकन पार्टीका तीनवटा कंग्रेसनल समितिका अध्यक्षले कथित चिनियाँ गुप्तचर अधिकारीसँग ह्वाङको सम्पर्कबारे जानकारी लिन नोभेम्बर १८ मा उनीसँग छलफल गर्न आग्रह गरेका छन्।
