काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफूले विगतमा समाजका विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउँदा समर्थन गर्नेहरूले अहिले पुराना भिडियो भाइरल बनाएर आलोचना गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमार्फत उनले ११ महिनाअघि आफू कुनै राजनीतिक दलमा आबद्ध नभई सचेत नागरिकका रूपमा गलत काम गर्ने जोकोहीलाई प्रश्न गर्ने गरेको बताएकी छन्।
त्यतिबेला आफ्ना भिडियोमा सर्वसाधारणले समर्थन र साथ दिएको उल्लेख गर्दै उनले अहिले तिनै भिडियोका अंश काटेर आलोचना भइरहेको बताइन्। कतिपय सांसदले आफ्नो आर्थिक हिसाबकिताबसमेत खोज्न थालेको भन्दै उनले व्यङ्ग्य गरेकी छन्।
उनले भनेकी छन्,‘यसरी भिडियोको क्लिप काटेर केही हुनेवाला छैन। मैले हिजो पनि भनेकै थिएँ र आज पनि छाती ठोकेर भन्छु, म यहाँ राजनीति गर्न आएकी होइन ।’
आफूलाई राजनीतिको आडमा स्वार्थ पूरा गर्नु नरहेको दाबी गर्दै तामाङले विगतमा लाखौँ भ्युज पाएका आफ्ना सबै भिडियो एकैपटक सार्वजनिक गरेर आलोचना गर्न चुनौतीसमेत दिएकी छन्।
उनले ११ महिनाअघि आफूलाई समर्थन गर्नेहरूले गरेका टिप्पणीका स्क्रिनसट र भिडियोका लिङ्कसमेत सार्वजनिक गरेकी छन्।
