-डा. युवराज संग्रौला ।
मैले नेपालमा सुन्ने गरेका केही अत्यन्त घातक, गरिबविरोधी, मानवताविरोधी र नश्लवादी शव्दहरु तिनले बोकेका मान्यताहरू छन्, जसले नेपाली ’समाज, यो राष्ट्र र यो संसार सबै केही सीमित मानिसको मात्र हो’ भन्ने मान्यता राख्दछन् । र, यस्ता मान्छे अभिजात बर्गका मानिस हुन । जो अर्काको सम्पतिमा हक जमाएर, धन र विदेशीको सहयोगमा सत्ता प्राप्त गरेर, नेपालीत्व गुमाइ आधुनिक बनेर देशमा बिना कुनै श्रम, कुनै संस्था नबनाइ, परिवर्तनका आन्दोलनमा सरिक नभै दुलोबाट निक्लिएर ठुला मानिस बनेका छ्न। यि अभिजातका मुखबाट यस्ता कुराहरु आउँछन् ।
१. ‘सडकछाप’: ‘सडकका मान्छेका कुरा’, ‘सडकछाप मान्छे’, ‘सडकवासी’ आदि शब्दहरू बोलचालमा प्रयोग गर्छन्, कसैले आफूलाई पृथक प्राणी देखाउन र कसैले अर्थै नबुझी । सडक गरिबहरूको गरि खाने ठाउँ हो । सवारीचालक, सडक मर्मत गर्ने मजदुर, सडक सफा गर्ने मजदुर, सडकमा सामान बेच्ने र घर घरमा सामान पुर्याउने साना व्यापारी, ठूला–ठूला रेस्टुरेन्टमा कफी खान जान नसक्ने र कम आर्जन हुने हुँदा सडक छेउमा चिया–खाजा खाने मानिसहरू ’सडक’सँग जोडिएका हुन्छन् ।
सामन्त, अभिजात र सम्भ्रान्तहरू यी मानिसलाई हेला गर्छन् र उनीहरूसँग जोडेर आफूलाई मन नपरेका कुरालाई ’सडकछाप’ भन्छन् । समाजका अभिजातहरूलाई पाल्ने मानिस तिनै ’सडकछाप’ हुन्। उनीहरूको दालभात (हुन त उनीहरू दालभातलाई पनि हेला गर्छन्, लन्च–डिनर ज्युनार गर्छन्), पानी र जुत्ता—सबै तिनै सडकछापको श्रमबाट आउँछन्। यो शब्द लुटेर खानेहरूले कमाएर खाने र लुटेराहरूले लुटेका कारण हुँदाखाने मानिसलाई गर्ने अपमान हो। यो शब्दले ‘महलवालाको मानवविरोधी’ पूर्वाग्रह बोकेको हुन्छ।
२. कालोसूचीः अहिले जताततै ‘कालोसूची’ (ब्ल्याकलिस्ट) को चर्चा हुन्छ। व्यवसायमा घाटा हुने, उद्योग गर्दा नोक्सानीमा परेका, विश्वासमा परेर ठगिएका, हाम्रो स्थानीय बोलचालमा भन्दा दशा लागेका वा नसिब बिग्रिएका मानिस ऋण तिर्न नसकेर कालोसूचीमा पर्छन्; जस्तै— लघुवित्तले ठगेका मानिसहरू।
हाम्रो संस्कृतिमा ‘कालो’ स्नेह र विश्वास हो। माया गरेर ‘काले’, ‘काली’ भनिन्छ। ‘कालोसूची’को ’कालो’ भनेको पश्चिमी सेतो छाला भएका मानिसले कालो वर्णका मानिसलाई हेला र घृणा गर्न, ‘ऊ सभ्य होइन, अपराधी हो’ भन्न प्रयोग गरेको नश्लवादी अभिव्यक्ति हो। यो मानवअधिकारका दस्तावेजले निषेध गरेको शब्द पनि हो। तर, नेपालका अभिजात वर्ग, तिनको सरकार (जसले नागरिकलाई शासित र नेतालाई मालिक ठान्छ) र उनका बैंकहरूले यो शब्द प्रयोग गर्छन्।
३. खातेः अनाथ, बाँच्नका लागि सडक पुगेका, माया नपाएका, कोही नभएका, बाँच्नकै लागि माग्न, चोर्न र फोहोर खोतल्न बाध्य भएर सडकमै बस्ने–सुत्ने बालबालिकालाई अभिजातहरू ‘खाते’ भन्छन्। उनीहरू आफूभन्दा गरिब, आफ्नै महँगो कार नभएका, अंग्रेजी बोल्न नजान्ने र काम गरेर खानेलाई पनि ’खाते’ भनेर गाली गर्छन् । पछिल्लो समयमा यी शब्दहरूको व्यापक प्रयोग भइरहेको छ। अचेतहरु यि शब्दहरू गीतमा, सिनेमामा, साहित्यमा समेत प्रयोग गरिरहेका छ्न् ।
यसको तात्पर्य के हो भने, ‘नेपाली समाजका राजकीय संस्थाहरू र समाजको समग्र नियन्त्रणमा’ अभिजात वर्गको पकड कायम भइरहेको छ। देशको समग्र सम्पत्तिको ६० प्रतिशत हिस्सा अब ५–१० प्रतिशत मानिसको हातमा पुगेको छ र दुइटा नेपालको तस्बिर प्रष्ट हुँदैछ।
एउटा नेपाल— ’अभिजातहरूले भनेझैँ सडकछाप, कालोसूची र खाते’ हरूको नेपाल हो । यो नेपालमा देशका करिब ७० प्रतिशत मानिस छन्, जो दिनरात काम गरेर खान्छन्।
अर्को नेपाल—यो ‘अभिजात’ वर्गको हो। यसभित्र भ्रष्टाचारबाट कमाएका, वित्तपुँजीवादको धन्दामा लागेर पैसाबाट पैसा उत्पादन गर्ने नवधनाढ्य, माफिया, सुनपति, खुनपति, हुन्डीवाला आदि पर्छन्। यिनको सिको गर्ने र बिस्तारै तल गिर्दै गएका धनी व्यवसायीहरू पनि यसमा पर्छन्। तर, सबै धनीहरू अभिजात वा नवाभिजात होइनन्। उद्यमी, उद्योगपति र व्यावसायिक पेसाको धर्म पालना गर्ने धनी वकिल, धनी डाक्टर, इन्जिनियर आदि यसमा पर्दैनन्। अभिजात बर्ग नैतिकता र मानवताविरोधी हुन्छ।
अहिले नेपालमा यो वर्गको राजनीति, उद्योग, व्यवसाय, संस्कृति, भाषा, प्रविधि आदि सबै क्षेत्रमा वर्चस्व निर्माण हुँदैछ । यो अवस्था निर्माण गर्ने राजनीति ‘विकृत कर्मकाण्डी’ उदारवाद हो, जसले मौलिकता र आफ्नोपनलाई अस्वीकार गर्दछ र ‘मानसिक उपनिवेशवादको’ फन्दामा परेर ’कृति’ (सिर्जना) लाइ अस्वीकार गर्दै ‘विकृति’ (अस्लिलता र बिग्रह) लाई कृति मान्छ। नेपाल आफ्ना मौलिक सभ्यताबाट भडकिएको छ। विश्वमा आज ति देश मात्र सभ्यताको कुरा गर्दैछन् , जसले ‘राजनीतिको उद्देश्य राज्यमा नागरिकको सर्वोच्चता नै हो’ भन्ने ठान्दछन् । ति देश आर्काको संविधान, कानुन, राजनीति प्रणाली, संस्थाको नक्कल गर्नुहुंदैन भन्छ्न्। उनिहरु अभिजात मासेर गरिबको उत्थानलाइ राजनीति मान्छन्। उनीहरु राजनीति सनक, उटपट्यांङ कुरा र जत्थाउन्माद, र अल्गोरिदमले सिर्जना गर्ने अफवावाद होइन भन्छन् ।
