यु-१९ एसिया कप : नेपाल युएईसँग पराजित

काठमाडौं । एसीसी यु-१९ एसिया कप अन्तर्गत आज भएको खेलमापनि नेपाल पराजित भएको छ । आइतबार दिउँसो भएको खेलमा युएईसँग ७ विकेटले पराजित हुँदै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको हो ।

जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको युएईले ३४.४ ओभरमा ३ विकेटको क्षतिमा १ सय ५८ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । युएईको लागि कप्तान आयान मिस्बाहले अर्धसतक बनाए । उनले १ सय ४ बल खेल्दै ११ चौकाको मद्दतमा नटआउट ७५ रन बनाए । यस्तै यायिन किरण राईले ३२, अहमद खुदाददले २४ र ओमार ताकिरले ११ रन बनाए ।

यस्तै सुशील रावल, नितेश पटेल, विपिन शर्माले समान एक/एक विकेट लिए ।

यसअघि ओमानको अल अमेराट क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ४१ ओभरमा अलआउट हुँदै १ सय ५३ रनमात्र बनाउन सक्यो । नेपालको लागि सोहिल कुँवरले ३३, सचिन भाटले ३२, निरज कुमार यादव र आशिष लुहारले समान ११/११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

युएईको लागि नासिम खानले ८ ओभरमा एक मेडन राख्दै ४३ रन दिएर ५ विकेट लिँदा आयन मिस्बा र नोरुल्लाह अयोबीले दुई विकेट लिए ।

जितसँगै युएई २ खेलबाट २ अंक जोड्दै समूह ‘ए’को तेस्रो स्थानमा रहेको छ । समान खेलबाट अंकविहीन नेपाल पुछारमा रहेको छ । अब नेपालले आफ्नो अन्तिम खेलमा मंगलबार पाकिस्तानको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *