एआई क्षेत्रमा लगानीको डरले अमेरिकी सेयर बजारमा ठूलो पहिरो, नास्डाकबाट २.५ ट्रिलियन डलर स्वाहा

रोयटर्स । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले ठूलो सफलता हासिल गरेपछि कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी र पूर्वाधार विस्तार प्रभावित हुन सक्ने आशंकाले अमेरिकी सेयर बजारमा ठूलो गिरावट आएको छ।

बिहीबार प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्डाक कम्पोजिट सूचकांक ५.५ प्रतिशतले घटेको छ। यससँगै बजारबाट करिब २.५ ट्रिलियन अमेरिकी डलर बराबरको पुँजीकरण गुमेको छ। सन् २०२५ अप्रिलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ‘लिबरेसन डे’ पछिकै यो एक दिनको सबैभन्दा ठूलो गिरावट हो।

मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरूको प्रभावशाली जितपछि एआई पूर्वाधार विस्तार, विशेषगरी डेटा सेन्टर निर्माणमा कडाइ हुन सक्ने लगानीकर्ताको चिन्ता छ। यसले अर्बौं डलर लगानीका डेटा सेन्टर परियोजनामा ढिलाइ हुने र एआई क्षेत्रमा लगानी गरिरहेका कम्पनीहरू थप दबाबमा पर्ने आशंका बढाएको छ।

नास्डाक अक्टोबर ६ मा कायम गरेको हालसम्मकै उच्च बिन्दुबाट झन्डै १२ प्रतिशत तल झरेको छ। पछिल्लो उच्च बिन्दुबाट १० प्रतिशतभन्दा बढी गिरावट आएमा त्यसलाई बजारको ‘करेक्शन’ मानिन्छ।

जोन्स ट्रेडिङका प्रमुख बजार रणनीतिकार माइकल ओ’रुर्कका अनुसार निर्वाचनको नतिजाले डेटा सेन्टर निर्माणको गति सुस्त हुन सक्ने विषयलाई बजारको प्रमुख चिन्ताका रूपमा स्थापित गरेको छ।

यसअघि नै उच्च ब्याजदर र कडा वित्तीय अवस्थाका कारण लगानी जुटाउन कठिनाइ भोगिरहेका साना एआई कम्पनीहरूमा थप दबाब पर्ने विश्लेषकहरूको भनाइ छ। विशेषगरी नेबियस र कोरवीभजस्ता क्लाउड पूर्वाधार कम्पनीको वित्तीय अवस्थाबारे लगानीकर्ताले चिन्ता व्यक्त गर्दै आएका छन्।

बिहीबार चिप निर्माता तथा एआई पूर्वाधारसँग सम्बन्धित कम्पनीका सेयरमा सबैभन्दा ठूलो गिरावट देखियो। फिलाडेल्फिया सेमिकन्डक्टर सूचकांक १२ प्रतिशतले घट्दै छ महिनायताकै न्यून बिन्दुमा पुगेको छ।

त्यस्तै, एआई चिप निर्माता एनभिडियाको सेयर ९ प्रतिशत र एड्भान्स्ड माइक्रो डिभाइसेज (एएमडी) को सेयर १७ प्रतिशतले घटेको छ।
बजारमा उतारचढावको जोखिम मापन गर्ने अमेरिकी भिक्स सूचकांक पनि डिसेम्बर २०२४ यताकै ठूलो दरले बढेको छ।

यस गिरावटले यसअघि तीव्र रूपमा बढिरहेका एआई कम्पनीहरूको सेयर मूल्यमा थप दबाब पर्ने संकेत गरेको विश्लेषकहरूको भनाइ छ। बजारको अस्थिरताले यसै शरद ऋतुमा अपेक्षा गरिएको एन्थ्रोपिकको ठूलो प्राथमिक सेयर निष्कासन (आईपीओ) को समयतालिकामा समेत असर पार्न सक्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *