युरोपका २१ भन्दा बढी विमानमा बमको धम्की, आठ देशका उडान प्रभावित

बीबीसी । युरोपका विभिन्न देशमा दोस्रो पटक एक साताभित्रै विमान र विमानस्थललाई लक्षित गरी बम विस्फोटको झुटो धम्की दिइएको छ । कम्तीमा २१ वटा विमान र विभिन्न विमानस्थलमा यस्तो धम्की आएपछि हवाई सेवा प्रभावित भएको छ।

बेलायत सरकारले घटनालाई ‘दुर्भावनापूर्ण झुटो धम्की’ भन्दै गम्भीरतापूर्वक लिएको जनाएको छ। धम्कीका कारण अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, फ्रान्स, इटाली, पोल्यान्ड र रोमानियाका उडान प्रभावित भएका छन्। डब्लिनबाट रोम जाँदै गरेको एर लिङ्गसको विमानलाई फ्रान्सको एक हवाई सैन्य आधारमा अवतरण गराइएको थियो। त्यस्तै, हेलसिन्कीबाट रोम जाँदै गरेको फिनएयरको विमानलाई इटालीका लडाकु विमानले सुरक्षा निगरानी दिएका थिए।

इजिजेटका अनुसार न्युक्यासल र ग्लास्गोबाट प्राग पुगेका उसका विमानलाई सावधानीस्वरूप प्रहरीले नियन्त्रणमा लिएको थियो। लन्डनको हिथ्रो र बर्मिङ्घम विमानस्थलमा पनि बमको धम्की आएको थियो। तर ती धम्की विश्वसनीय नभएको प्रारम्भिक मूल्याङ्कन गरिएको थियो।
विमान र विमानस्थलमा गरिएको खानतलासीका क्रममा अहिलेसम्म कुनै विस्फोटक पदार्थ फेला परेको छैन। केही धम्कीको जिम्मेवारी अज्ञात समूहले लिएको दाबी गरे पनि यी घटनाहरू आपसमा सम्बन्धित छन् वा छैनन् भन्ने स्पष्ट भइसकेको छैन।

इटालीको राजधानी रोमका दुई विमानस्थलमा बिहीबार इमेलमार्फत बमको धम्की आएको विमानस्थल सञ्चालक निकाय एरोपोर्टी दी रोमाले जनाएको छ। धम्कीमा आफूलाई ‘फाइटर्स अफ द मेल स्टेट’ भन्ने समूहको नाम उल्लेख गरिएको थियो।

उक्त समूहले आफूहरू ‘नारीवादी शासन व्यवस्था’ लाई निशाना बनाइरहेको दाबी गर्दै विस्फोटमार्फत इतिहासमा आफ्नो छाप छाड्ने चेतावनी दिएको थियो। इमेलमा ‘आकाशलाई रातो बनाइदिने’ भन्दै विस्फोटको धम्की दिइएको थियो।

इटालीका सञ्चारमाध्यमले सार्वजनिक गरेका यी विवरणलाई रोमका दुवै विमानस्थल सञ्चालन गर्ने निकायले बीबीसीसँग पुष्टि गरेको छ।
‘फाइटर्स अफ द मेल स्टेट’ नामले सन् २०२१ मा मस्कोको अदालतले प्रतिबन्ध लगाएको रुसी अतिवादी दक्षिणपन्थी समूह ‘मुज्स्कोई लिजन’ अर्थात् ‘मेल लिजन’ लाई संकेत गरेको हुन सक्ने अनुमान गरिएको छ। उक्त समूहले युक्रेनमाथि रुसको पूर्णस्तरको आक्रमणलाई समर्थन गर्दै आएको थियो।

यद्यपि, इमेल वास्तविक भए पनि धम्की दिने व्यक्ति वा समूहको पहिचान गर्न प्रहरी र विमानस्थल अधिकारीलाई यसले पर्याप्त आधार दिने सम्भावना कम रहेको बताइएको छ। बेलायतकी यातायातमन्त्री हेइडी अलेक्जेन्डरले बिहीबारका घटनालाई ‘दुर्भावनापूर्ण झुटा धम्की’ भन्दै सरकारले यस्ता घटनालाई गम्भीरतापूर्वक लिएको बताइन्। उनले यस्ता धम्कीको सामना गर्न स्थापित सुरक्षा प्रक्रिया रहेको पनि स्पष्ट पारिन्।
बेलायत सरकारका एक प्रवक्ताले बिहीबार बिहानै प्राप्त धम्कीहरू समाधान गरिएको जानकारी दिए। तर घटनाबारे थप विवरण सार्वजनिक गरेनन्।

हिथ्रो विमानस्थलले पनि बिहीबार प्राप्त धम्कीलाई अविश्वसनीय ठहर गरिएको र यात्रु, कर्मचारी तथा विमानको सुरक्षामा कुनै जोखिम नरहेको जनाएको छ। त्यस्तै, बर्मिङ्घम विमानस्थलले धम्की प्राप्त हुनासाथ आपत्कालीन सेवा तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सुरक्षा प्रक्रिया अघि बढाइएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *