काठमाडौँ । जेनजी अगुवा रक्षा वमले प्रधानमन्त्री बालेन साहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अहंकार र स्वेच्छाचारिताले देश सञ्चालन हुन नसक्ने टिप्पणी गरेकी छन् ।
सामाजिक संजालमार्फत उनले विगतका प्रधानमन्त्रीहरूको अहंकार र आफूलाई संविधान, विधि तथा व्यवस्थाभन्दा माथि ठान्ने प्रवृत्तिले देशलाई संकटमा पुर्याएको इतिहास स्मरण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेकी हुन् ।
‘म नै राज्य हुँ’ भन्ने मानसिकताले देश चल्न नसक्ने उल्लेख गर्दै वमले प्रधानमन्त्रीसँग आफ्नै पार्टीसमेत नरहेको दाबी गरेकी छन् । यही अहंकार र स्वेच्छाचारिता कायम रहे जनताले पनि साथ छाड्ने उनको चेतावनी छ ।
वमले इनामलाई बिचौलियाको आरोप लगाउँदै उनको फोन दुई दिनसम्म आफूखुसी नियन्त्रणमा लिएर प्रमाण मेटाइएको सूचना सार्वजनिक भएपछि सरकार पक्ष आत्तिएको आरोपसमेत लगाएकी छन् ।
उनले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै संविधान, विधि र व्यवस्थाभन्दा माथि कोही हुन नसक्ने उल्लेख गरेकी छन् ।
