काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा कर्णाली याक्सले लगातार दोस्रो जित निकालेको छ । बिहीबार राति सम्पन्न खेलमा कर्णालीले विराटनगर किंग्समाथि ४ विकेटको शानदार जित निकालेको हो ।
जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १९.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । कर्णालीलाई जित दिलाउन कप्तान सोमपाल कामीले शानदार अर्धसतक बनाए । उनले ३२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा नटआउट ६२ रन बनाए । उनलाई गुलसन झाले २१ बलमा २ चौका र २ छक्काको मद्दतमा नटआउट २८ रन बनाउँदै साथ दिएका हुन् । यस्तै पवन सरार्फले ३६, अरिफुल इस्लामले ३२ र दिपक डुम्रेले २० रनको योगदान गरे ।
विराटनगरको लागि एन्जेलो म्यथ्युसले तीन विकेट लिँदा चरिथ असलंका, प्रतिस जिसी र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो । विराटनगरको लागि लोकेश बमले अर्धसतक बनाए । उनले ५२ बलमा ९ छक्का र ३ चौकाको मद्दतमा ८७ रन बनाए । यस्तै एन्जेलो म्याथ्युसले ३१, आन्द्रे रसेलले २७, बासिर अहमदले १३ र शेहान जयशुर्याले ११ रनको योगदान गरे ।
कर्णालीको लागि कप्तान सोमपाल कामीले ४ ओभरमा ३३ रन दिएर ४ विकेट लिए । यस्तै नन्दन यादव र मार्क वाटले एक/एक विकेट लिए ।
जितसँगै कर्णाली दुई खेलबाट ४ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।दुवै खेलमा पराजित विराटनगर अंकविहीन रहेको छ ।
