काठमाडौँ । अमेरिकाले नेपालको विपद् प्रतिकार्य क्षमता सुदृढ बनाउन १५ करोड अमेरिकी डलरभन्दा बढी मूल्यका अमेरिकी हेलिकोप्टर, ड्रोन र नदीमा प्रयोग हुने उद्धार डुङ्गा उपलब्ध गराउने भएको छ ।
नेपालका लागि अमेरिकी नियोगकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले बिहीबार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी नेपाल–अमेरिका साझेदारी तथा गत अगस्टमा आएको विनाशकारी बाढीपछि नेपालको पुनःस्थापना र विपद् व्यवस्थापनमा अमेरिकाले गरिरहेको सहयोगबारे छलफल गरेकी हुन् ।
भेटका क्रममा बोल्डिनले बाढीपहिरोका कारण ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ता नेपाली सैनिकका परिवारप्रति समवेदना प्रकट गरिन् ।
उनले अमेरिकाले उपलब्ध गराउने हेलिकोप्टर, ड्रोन र नदीमा प्रयोग हुने डुङ्गाले नेपालको विपद् प्रतिकार्य क्षमतालाई थप मजबुत बनाउने बताइन् । ती उपकरणको आपूर्ति आगामी वर्षदेखि सुरु हुने जनाइएको छ ।
अमेरिकाले गतवर्ष ३ करोड ८० लाख अमेरिकी डलर मूल्यका एम–२८ स्काइट्रक विमान नेपाललाई प्रदान गरेको थियो । ती विमानले विपद्पछिको उद्धार तथा राहत कार्यमा सहयोग गर्दै आएका छन् ।
अमेरिकी प्रविधि, उपकरण र विशेषज्ञतामार्फत नेपालमा खोज तथा उद्धार, बिरामीको आकस्मिक उद्धार तथा स्थानान्तरण र आपत्कालीन प्रतिकार्य क्षमता विस्तार गर्न सहयोग पुग्ने अमेरिकी पक्षले जनाएको छ । यसबाट विपद्का बेला मानवीय जीवन जोगाउन र प्रभावित समुदायलाई सहयोग गर्न नेपालको क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
