काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा कर्णाली याक्स विजयी भएको छ । मंगलबार बेलुकी सम्पन्न दोस्रो खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको हो ।
जितको लागि १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा अलआउट हुँदै १ सय १३ रनमा समेटिएको हो । जनकपुरको लागि अभिषेक तिवारीले २० तथा मोइन अली र कप्तान हर्मित सिंहले समान १९/१९ रन बनाए । जेम्स निशमले १५ र मायान यादवले १४ रनको योगदान गरे ।
कर्णालीको लागि हुसेन तालत र युनिष ठकुरीले समान तीन/तीन विकेट लिँदा नन्दन यादवले दुई तथा सोमपाल कामीले एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको थियो । कर्णालीको लागि अरिफुल इस्लामले २९ बलमा ४ छक्काको मद्दतमा ४३ रन बनाउँदा पवन सरार्फले ३७ रन बनाए । उनले ३७ बलमा ३ छक्का प्रहार गरे । यस्तै दिपक डुम्रेले १३, गुलसन झाले १२ र नन्दन यादवले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
जनकपुरको लागि कप्तान हर्मित सिंहले ४ ओभरमा एक मेडन राख्दै २२ रन दिएर तीन विकेट लिए । यस्तै डेब्यु खेल खेलेका राहुल यादवले ४ ओभरमा १६ रन दिएर २ विकेट लिँदा मोइन अलीले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीको नाममा एक विकेट रह्यो ।
जितसँगै कर्णालीले दुई अंक जोडेको छ ।
