मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दशैंपछि भक्तजनको संख्या बढेको छ । दशैं अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बिहीबारदेखि शनिबारसम्म १२ हजार १३० जना भक्तजनले मुक्तिनाथको दर्शन गरेका छन् । प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दशैंको भोलिपल्ट तीन हजार ३३, शुक्रबार चार हजार ८१३ र शनिबार चार हजार २८४ जनाले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् ।
गत ११ असोजको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले बेनी—जोमसोम सडक ध्वंस्त हुँदा दुई सातासम्म पूर्ण रुपमा सडक अवरुद्ध बनेको थियो । बर्सेनि सोह्र श्राद्धका बेला हजारौ तीर्थालुहरु मुस्ताङ आउने गरेका भएपनि यसपटक सडक असहजताका कारण पर्यटक उपस्थिती हुन सकेको थिएन ।
मुक्तिनाथमा दर्शनार्थीको संख्या बढेसंगै बेनी-जोमसोम सडकमार्गका होटलहरु पर्यटकले भरिन थालेका छन् । यसैगरी मुस्ताङमा पर्यटक आगमन बढेसँगै यहाँका स्याउ, स्याउबाट बनेका ब्रान्डी र वायनलगायतका कृषि उपजका सामग्रीको किनमेल पनि बढेको छ ।
तनहुँबाट मुक्तिनाथ दर्शन गर्न आउनुभएका सुजन थापामगरले चाडपर्वको बिदालाई सदुपयोग गर्दै मुक्तिनाथको दर्शन गर्न आइपुगेको बताए । ललितपूरका रत्नबहादुर महर्जन पनि आफूसहित सात जनाको टोली मुक्तिनाथको दर्शन र कोरलानाका घुम्न आएको बताए ।
