दशैं मनाएर काठमाडौँ फर्किने यात्रुले चहलपहल बढ्यो

काठमाडौँ । दशैं मनाउन घर तथा आफन्तका गएकाहरु काठमाडौँ फर्कने क्रम बढेको छ । दशैंको टीका, जमरा र पारिवारिक सकेर गाउँघर गएका सर्वसाधारण बिदा सकिएसँगै राजधानी फर्किन थालेपछि काठमाडौँका सडक, सार्वजनिक यातायात र बसपार्कमा यात्रुको चाप बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रोजगारी, अध्ययन र व्यवसायका लागि काठमाडौँमा बसोबास गर्दै आएका नागरिक चाडपर्वको बिदा सकिएपछि आफ्नो नियमित काममा फर्किन थालेका हुन् ।

लामो बिदापछि सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था र विभिन्न व्यवसाय पुनः सञ्चालन हुन थालेकाले राजधानी फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उहाँका अनुसार दशैं मनाएर फर्किने यात्रुको चाप बढेसँगै राजधानी प्रवेश गर्ने प्रमुख सडक तथा सार्वजनिक यातायातमा चहलपहल बढेको छ । यात्रुको आवागमन सहज बनाउन ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा सक्रियता बढाएको छ ।

कार्यालयका अनुसार काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख नाकाहरू नागढुङ्गा (थानकोट), साँगा (भक्तपुर), मुड्खु (बालाजु), फर्पिङ (बल्खु) र टोखा (छहरे) क्षेत्रमा सवारीसाधन तथा यात्रुको चाप बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *