के हाम्रा पुर्खा बाढीबाट जोगिन अग्लो ठाउँमा बस्थे ?

-उत्तमबाबु श्रेष्ठ ।

नेपालमा रसुवा र गोरखाका नदी छेउछाउका बस्तीहरूमा बाढीले क्षति पुर्याएपछि एउटा भनाइ दोहोरिन थालेको छ, ‘हाम्रा पुर्खाहरू कति ज्ञानी ! यस्तै हुन्छ भन्ने जानेरै अग्लो स्थानमा बस्थे र तल (बेसी/बगरमा) खेती गर्थे।’ तर के साँच्चै हाम्रा पुर्खाहरू बाढीबाट जोगिनकै लागि मात्र अग्लो वा दुर्गम स्थानमा बस्न गएका हुन् त ?

काठमाडौँ उपत्यकाका पुराना बस्तीहरू-साँखु, बुढानीलकण्ठ, बुङ्गमती, खोकना, र कीर्तिपुर आदिलाई हेर्दा पहिलो नजरमा त्यस्तै देखिन्छ। तर, ती बस्तीहरू बाढीको डरले भन्दा पनि शत्रुसँगको युद्धमा सुरक्षा पाउन, गढीका रूपमा प्रयोग गर्न र उत्पादनशील खेतीयोग्य जमिन जोगाउन डाँडामा बसाइएका हुन् जस्तो लाग्छ ।

मानिसहरू किन अहिले ‘दुर्गम’ भनिने दूरदराजका क्षेत्रमा बस्न गए भन्ने कुरा बुझ्न जेम्स सी. स्कटको पुस्तक ‘द आर्ट अफ नट बीइङ गभन्र्ड’ को सहारा लिनुपर्छ अर्थात् ‘जोमिया’ (Zomia) सिद्धान्त । उहाँले दक्षिणपूर्वी एसियाली महाद्वीपको अधिकांश पहाडी भूभागलाई ऐतिहासिक रूपमा राज्यको शासन र नियन्त्रणबाट मुक्त रहन मानिसहरूले अपनाएको रणनीतिका रूपमा व्याख्या गर्नुभएको छ। राज्यले लाद्ने कर, दासता, सैन्य भर्ती, झारा÷अवैतनिक श्रम र युद्धबाट बच्न मानिसहरू सम्भ्रान्त तथा राज्यको सहज पहुँच भएका समथर भूभाग वा उपत्यका छोडेर पहाडतिर भागेका हुन् भन्ने उहाँको निष्कर्ष छ।

नेपालको सन्दर्भमा पनि यो एउटा प्रमुख कारण हो जस्तो लाग्छ । नेपालमा मानवशास्त्री Sara Shneiderman ले यसबारेमा अनुसन्धान गर्नुभएको जस्तो लाग्छ । ऐतिहासिक रूपमा राज्यलाई कर उठाउन, अन्न सङ्कलन गर्न र सैनिक वा कारिन्दाहरू खटाउनका लागि जनता सजिलै देखिने र गन्न सकिने (राज्य–पारदर्शी) स्थानमा हुनु सहज हुन्थ्यो। यसका लागि बाली सप्रिने समथर भूभाग जति उपयुक्त हुन्थ्यो, पहाड त्यति हुँदैनथ्यो । किनकि पहाडमा पशुपालन र घुमन्ते खेतीका लागि मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा हिँडिरहन्थे, जसले गर्दा त्यस्ता बासिन्दामाथि हैकम जमाउन राज्यलाई निकै गाह्रो पथ्र्यो ।

नेपालमा पनि पोतकर, झारा–रकम, कुरिया–भारिया, सैन्य दायित्व, तथा जमिन्दार र जिम्वालहरूलाई बुझाउनुपर्ने बहुआयामिक करका कारण मानिसहरू स्कटले भनेजस्तै राज्यको दोहनबाट बच्न भागेर अहिले दुर्गम भनिएका ठाउँहरूमा पुगेका हुन सक्छन् । उदाहरणका लागि, तामाङ समुदायले राज्यका लागि प्रतिपरिवार वर्षमा कम्तीमा ६० दिनसम्म ‘रकम’ (अवैतनिक श्रम) बुझाउनुपथ्र्यो (डेविड हमवर्ग, महेशचन्द्र रेग्मी लेक्चर २०१७) । साथै नेपालको पूर्वी तराई (मोरङ) मा अत्यधिक कर र राजस्व अधिकारीहरूको अत्याचारका कारण त्यहाँका मोही किसानहरू भारततर्फ भागेका थिए (जनक राइ, सिनास, २०१५) ।

सडक, बिजुली, विद्यालय, अस्पताल र अड्डा–अदालत केही पनि नचाहिने वा नभएको त्यो समयमा जहाँ बसे पनि मुख्य आधार भनेको खाने अन्न र मासुका लागि गरिने कृषि र पशुपालन नै त थियो । त्यसैले मानिसहरू राज्यको थिचोमिचोबाट भागेर दुर्गममा पुगेका हुन् भन्ने तर्क बलियो देखिन्छ ।

यसका साथै, कतिपय ठाउँमा मानिसहरू युद्ध र आक्रमणबाट जोगिन, कतिपय ठाउँमा परम्परागत जमिन र स्थानीय शासन संस्था (जस्तैः पूर्वको किपट व्यवस्था) जोगाउन, त कतिपय ठाउँमा तिब्बत र दक्षिण एसिया जोड्ने व्यापारिक नाका (जस्तैः मुस्ताङ) मा पहुँच कायम राख्न बसेका हुन सक्छन् । त्यसैले मेरो अनुमान र जानकारी अनुसार, मानिसहरू अहिलेको जस्तो बाढीबाट बच्नका लागि मात्र डाँडा वा दुर्गममा बसेका भने होइनन्। त्यो दाबी भरपर्दाे लाग्दैन ।

थप कुरा, जलवायु परिवर्तनले आदिवासी जनसमुदायको ज्ञानको परम्परागत स्रोत अर्थात् उनीहरूको ‘अनुभव’ लाई नै प्रभावित पारिदिएको छ। आजको जस्तो अत्यधिक गर्मी र हिउँ पर्न छाडेको स्थिति भोग्ने पहिलो पुस्ता अहिलेकै बाँचिरहेको पुस्ता हो । त्यसैले, आदिवासी समुदायले आफूले पहिले कहिल्यै नभोगेको र नदेखेको यस्तो विषम वातावरणीय अवस्थाको समाधान केवल आफ्ना पुराना अनुभवजन्य सिकाइबाट मात्र कसरी निकाल्न सक्थे र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *