जोर्डनको चर्चमा अन्त्येष्टिका बेला गोली प्रहार, सात जनाको मृत्यु, ४० घाइते

जेरुसेलम । जोर्डनको काराक सहरस्थित एक चर्चमा अन्त्येष्टि चलिरहेका बेला बन्दुकधारीहरूले गोली प्रहार गर्दा सात जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार शुक्रबार भएको घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

राजधानी अम्मानबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको ग्रिक अर्थोडक्स चर्चमा घटना भएको हो । सरकारी टेलिभिजनमा प्रसारित दृश्यमा पिस्तोल बोकेका जस्ता देखिने दुई जना बन्दुकधारी चर्चतर्फ अघि बढेर गोली चलाएको देखिन्छ । त्यसपछि अर्धस्वचालित राइफल बोकेको जस्तो देखिने अर्को व्यक्ति पनि त्यहाँ पुगेर गोली चलाएको दृश्यमा देखिएको छ ।

प्रत्यक्षदर्शीले खिचेको भिडियोमा चर्चको भुइँमा फुटेका सिसाका टुक्रा र रगत देखिन्छन् । अन्त्येष्टिमा सहभागी डोरघम हलासाका अनुसार कार्यक्रम सुरु भएको करिब १५ मिनेटपछि गोलीबारी भएको थियो । उनले घटनालाई भयावह भन्दै गोली चल्न थालेपछि मानिसहरू ज्यान जोगाउन यताउता भागेको बताए।

सरकारी विज्ञप्तिमा आक्रमण अज्ञात व्यक्तिहरूले गरेको उल्लेख छ । यद्यपि, आक्रमणकारीको सङ्ख्या, उनीहरूको अवस्था वा पक्राउबारे अधिकारीहरूले विस्तृत जानकारी दिएका छैनन् । घटनाको अनुसन्धान तीव्र पारिएको जनाइएको छ ।

जोर्डनको पेट्रा समाचार एजेन्सीका अनुसार सरकारले घटनापछि तीनदिने राष्ट्रिय शोक घोषणा गरेको छ । काराकमा अल्पसङ्ख्यक इसाई समुदायको बसोबास छ ।

जोर्डनका राजा अब्दुल्लाह द्वितीयले घटनाको निन्दा गर्दै दोषीलाई कडा सजाय दिइने बताएका छन् ।  प्रधानमन्त्री जाफर हसनले पनि आक्रमणलाई आतङ्कवादी विचारधारा र अतिवादको परिणाम भन्दै दोषीमाथि कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस घटनाको लेबनान, सिरिया, इजिप्ट र ओमानलगायत देशले निन्दा गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणलाई जघन्य घटना भन्दै जिम्मेवार व्यक्तिहरूको पहिचान गरी जवाफदेही बनाउन आह्वान गरेका छन् ।

यसअघि सन् २०१६ मा पनि काराकमा बन्दुकधारीहरूले प्रहरी र पर्यटकलाई लक्षित गरी आक्रमण गरेका थिए । उक्त घटनामा सात प्रहरीसहित १० जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *