रोयटर्स । अमेरिकी प्रशासनले युक्रेन, इरान र मध्यपूर्वका विभिन्न क्षेत्रमा एलन मस्कको कम्पनी स्पेसएक्सको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंक सञ्चालन वा बन्द गर्न वर्षौंदेखि आग्रह गर्दै आएको खुलासा भएको छ।
अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेन र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रशासनले विभिन्न देशमा स्टारलिंक सेवा सक्रिय पार्न वा बन्द गर्न स्पेसएक्ससँग पटक–पटक आग्रह गरेको विषयमा जानकार ६ जना पूर्ववरिष्ठ अमेरिकी अधिकारीलाई उदृत गर्दै रोयटर्सले समाचार प्रकाशित गरेको छ।
पूर्वअधिकारीहरूका अनुसार बाइडेन प्रशासनले यमन र लेबनानमा इरानसमर्थित सशस्त्र समूहले स्टारलिंकमार्फत सञ्चार गर्न नपाऊन् भनेर सेवा बन्द गर्न तथा इरान र युक्रेनमा इन्टरनेट पहुँच विस्तार गर्न आग्रह गरेको थियो। युक्रेनमा स्टारलिंकको प्रयोग विस्तार गर्नुको उद्देश्य त्यहाँको सेनालाई सहयोग पुर्याउनु थियो ।
अमेरिकी प्रशासनले विदेश नीति कार्यान्वयनका लागि निजी कम्पनीमाथि असामान्य रूपमा निर्भर हुन थालेको यस घटनाले देखाएको पूर्वअधिकारीहरूको भनाइ छ। राष्ट्रिय सुरक्षामा महत्त्वपूर्ण प्रभाव पार्ने स्याटेलाइट सञ्चार सेवाबारे निर्णय गर्ने अधिकार मस्कजस्ता निजी कम्पनीका प्रमुखसँग रहनुले सरकारको भूमिकाबारे पनि प्रश्न उठाएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत साता आफ्नो देशको सेनाले प्रयोग गर्दै आएको स्टारलिंकको सैन्य संस्करण ‘स्टारसिल्ड’ मा जानाजानी पहुँच सीमित गरिएको बताएका थिए। त्यसबाट युक्रेनी सैन्य ड्रोनको कार्यसम्पादन प्रभावित भएको उनको भनाइ थियो।
युक्रेनले रुसी क्षेप्यास्त्र आक्रमणबाट प्रतिरक्षा गर्नेलगायत सैन्य गतिविधिमा प्रयोग गर्दै आएको स्टारलिंक इन्टरनेटको गति पनि घटाइएको उनले बताएका थिए।
रोयटर्सका अनुसार सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि बाइडेन प्रशासनले युक्रेनी सेनाका लागि स्टारलिंकको पहुँच विस्तार गर्न स्पेसएक्ससँग समन्वय गरेको थियो। तर, सोही वर्ष युक्रेनले पुनः नियन्त्रणमा लिन खोजेका केही क्षेत्रमा स्टारलिंक सेवा बन्द गर्न मस्कले निर्देशन दिएपछि ह्वाइट हाउसका अधिकारीहरू आश्चर्यमा परेका थिए।
मस्कले सन् २०२२ मा युक्रेनले क्रिमियाको सेभास्टोपोल बन्दरगाहमा रहेको रुसी नौसैनिक बेडामाथि आक्रमण गर्न स्टारलिंक सेवा सक्रिय गरिदिन आग्रह गरेको बताएका थिए। ठूलो युद्धकारी गतिविधिमा आफू सहभागी हुन सक्ने आशङ्काले उक्त आग्रह अस्वीकार गरेको उनको भनाइ थियो।
युक्रेन अमेरिकाको सहयोगी राष्ट्र भए पनि स्टारलिंकको पहुँचमा लगाइएको सीमाले युरोपेली अधिकारीहरूलाई चिन्तित बनाएको छ। तत्काल प्रयोग गर्न सकिने वैकल्पिक सैन्य स्याटेलाइट सञ्चार प्रणालीको अभावमा युरोपले आफ्नै क्षमता विकास गर्नुपर्ने आवाज उठेको छ।
पाँच जना पूर्वअधिकारीका अनुसार बाइडेन प्रशासनले अमेरिकी प्रतिद्वन्द्वीहरूको सञ्चार अवरुद्ध गर्न र सहयोगी राष्ट्रहरूलाई मद्दत पुर्याउन स्पेसएक्ससँग सहकार्य गरेको थियो। पेन्टागन र ह्वाइट हाउसका अधिकारी सहभागी हुने छलफलमा यमनका हुथी र लेबनानको हिजबुल्लाह समूहले स्टारलिंकका टर्मिनल प्रयोग गर्न नपाऊन् भन्ने विषय प्रमुखताका साथ उठ्ने गरेको थियो।
अमेरिकी अधिकारीहरूले ती समूहले बिचौलियामार्फत प्राप्त स्टारलिंक टर्मिनल प्रयोग गरिरहेको सङ्केत दिने गुप्तचर सूचना स्पेसएक्ससँग साझा गरेका थिए।
सन् २०२३ को अक्टोबरमा दक्षिणी लेबनानमा इजरायल र हिजबुल्लाहबीच लडाइँ भइरहेका बेला हिजबुल्लाहसँग सम्बन्धित व्यक्तिहरूले स्टारलिंक टर्मिनलमा पहुँच प्राप्त गरेको हुन सक्ने सूचना अमेरिकी अधिकारीहरूले ह्वाइट हाउसलाई दिएका थिए। सन् २०२४ मा यमनका हुथी समूहविरुद्ध अमेरिकी हवाई आक्रमण भइरहेका बेला पनि यस्तै चिन्ता व्यक्त गरिएको थियो।
