नारायणगढ (चितवन) । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भरतपुर र माडीका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका समस्या तथा गुनासा सुनेकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनका सभापति ई. मिनीमाधव खनालका अनुसार मन्त्री गौतमले विशेषगरी नारायणी नदीको तटीय क्षेत्रको अवलोकन गरी स्थानीयवासीसँग छलफल गरेकी थिइन् । नारायणी नदीको कटानबाट प्रभावित क्षेत्रको अवस्था बुझ्दै उहाँले समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको खनालले बताए ।
नारायणी नदीको दुवैतर्फका बस्तीमा तटबन्ध निर्माण, कटान नियन्त्रण र बजेट व्यवस्थापनका विषयमा मन्त्री गौतमले चासो व्यक्त गरेको उनले जानकारी दिए । कटानको जोखिम बढी भएका स्थानमा तत्काल काम गर्ने र अन्य क्षेत्रमा पनि दिगो समाधानका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा मन्त्री गौतमले जोड थियो ।
अवलोकनका क्रममा स्थानीयवासीले बस्तीको सुरक्षालाई प्राथमिकतामा राख्दै नारायणी कटान नियन्त्रणका लागि बाँकी काम शीघ्र सम्पन्न गर्नुपर्ने माग गरेका थिए । जवाफमा मन्त्री गौतमले नारायणी तटबन्धको बाँकी काम सङ्घीय आयोजनाअन्तर्गत विज्ञ इन्जिनियरको निगरानीमा बजेट सुनिश्चित गरी अघि बढाइने बताएकी थिइन् ।
उनले निर्वाचनका बेला हुने राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर गाउँबस्ती जोगाउन र विकासका काम अघि बढाउन सबै एकजुट हुनुपर्नेमा पनि जोड दिएकी थिइन् ।
यसैगरी, मन्त्री गौतमले माडी नगरपालिकाका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका समस्या तथा गुनासा सुनकी थिइन् । माडीमा निकुञ्ज तथा जङ्गलको बाटो, खोला कटान तथा अन्य स्थानीय समस्याबारे जानकारी लिँदै उनले प्राथमिकताका आधारमा समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
