बेइजिङ । चीन र रुसले युरेसिया महाद्वीपमा स्थिरता कमजोर पार्ने बाह्य हस्तक्षेपको विरोध गर्दै एक अर्काको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रुसको भ्रमणमा रहेका चिनियाँ प्रधानमन्त्री ली छ्याङले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेपछि दुवै देशले संयुक्त वक्तव्य जारी गरेका हुन् ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाले प्रकाशित गरेको वक्तव्यमा दुवै पक्षले विनाशकारी बाह्य हस्तक्षेपलाई युरेसिया महाद्वीपमा स्थिरता कमजोर पार्ने प्रमुख कारकका रूपमा औँल्याएका छन् ।
वक्तव्यमा युरेसियाली एकताको प्रक्रियामा अवरोध पुर्याउने उद्देश्यले बल प्रयोग गर्ने वा बाह्य दबाब सिर्जना गर्ने कुनै पनि कार्यको दुवै देशले कडा निन्दा गर्ने उल्लेख छ । साथै, एकअर्काका मुख्य हित र प्रमुख सरोकारसँग सम्बन्धित विषयमा सधैँ दृढ समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
चीनले रुसको सुरक्षा, स्थिरता, राष्ट्रिय एकता, विकास, समृद्धि, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने प्रयासलाई समर्थन गर्ने जनाएको छ । रुसको आन्तरिक मामिलामा बाह्य शक्तिले हस्तक्षेप गरेकोप्रति पनि चीनले विरोध जनाएको छ ।
यसैबीच, वक्तव्यमा रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुन सक्ने प्रस्तावित बैठकबारे कुनै उल्लेख गरिएको छैन ।
क्रेमलिनका सहयोगी युरी उशाकोभले बुधबार पत्रकारहरूसँग चीन, रुस र अमेरिकाका नेताहरूबीच सम्भावित पहिलो बैठकको तयारी भइरहेको बताएका थिए। उनका अनुसार आगामी महिना चीनको सेन्जेनमा हुने एसिया–प्रशान्त शिखर सम्मेलनका अवसरमा उक्त बैठक आयोजना गर्ने उद्देश्य राखिएको छ ।
