इरानमाथि नयाँ हमलाको तयारी, तेहरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी गरिरहेका बेला तेहरानले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। ‘द न्युयोर्क टाइम्स’ का अनुसार, अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधार, आणविक केन्द्र तथा क्षेप्यास्त्र र ड्रोन भण्डारलाई लक्षित गरी छोटो तर तीव्र सैन्य कारबाहीको योजना बनाएका छन्।

इरानी रिभोलुसनरी गार्ड कप्र्सका प्रवक्ता हुसेन मोहेबीले अमेरिकासँग ‘सबै बमकी आमा’ भनिने शक्तिशाली बम रहेको उल्लेख गर्दै इरानले त्यसको जवाफमा ‘सबै बमका पिता’ देखाउने चेतावनी दिनुभएको छ। तर, इरानले उक्त हतियारको स्वरूप र क्षमताबारे खुलाएको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको भूमिगत पिक्याक्स माउन्टेन आणविक केन्द्रमा २२ हजार पाउन्ड तौलको एमओएबी बम प्रयोग गर्ने विचार गर्नुभएको भन्ने प्रतिवेदनपछि इरानको चेतावनी आएको हो। यद्यपि, विशेषज्ञहरूले उक्त बमले ग्रेनाइट चट्टानभित्र रहेको केन्द्र नष्ट गर्न सक्नेमा शङ्का व्यक्त गरेका छन्। ट्रम्पले नयाँ आक्रमणलाई स्वीकृति दिनुहुन्छ वा दिनुहुन्न भन्ने अझै स्पष्ट छैन।

अमेरिकाले नोभेम्बरको सुरुसम्ममा तीन विमानवाहक युद्धपोत, हजारौँ नौसैनिक, लडाकू विमान र विशेष सैन्य बलसहित ठूलो सैन्य शक्ति तयारी अवस्थामा राख्ने योजना बनाएको छ। यसैबिच इरानी राष्ट्रपति मसुद पेजेस्कियानले दबाब र युद्धका बाबजुद आफ्नो देश दृढ रहने बताए।

इरानले सम्भावित नयाँ युद्धको असर ऊर्जा पूर्वाधार र व्यावसायिक ढुवानीमा मात्र सीमित नहुने चेतावनी दिएको छ। इरानी अधिकारीहरूका अनुसार, द्वन्द्व डाटा केन्द्र र समुद्रमुनिका इन्टरनेट केबलसम्म फैलिन सक्छ। केही अमेरिकी योजनाकारले तीन दिनको आक्रमणले इरानलाई वार्तामा सहुलियत दिन बाध्य पार्न सक्ने ठाने पनि अघिल्लो अमेरिका–इजरायल आक्रमणले ऊर्जा मूल्य र मुद्रास्फीति बढाएको तथा क्षेत्रीय सुरक्षा कमजोर पारेको प्रतिवेदनमा उल्लेख छ।

अमेरिका र इजरायलको सैन्य तयारी तथा कूटनीतिक प्रयास जारी रहँदा ट्रम्पको अन्तिम निर्णय र इरानको सम्भावित प्रतिक्रियाबारे अनिश्चितता कायमै छ। सम्भावित आक्रमणले पश्चिम एसियामा व्यापक युद्ध निम्त्याउन सक्ने चिन्ता बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *