काठमाडौं । बडादसैँअन्तर्गत विजयादशमीको भोलिपल्टदेखि सुरु भएको मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि जारी छ । आफन्त तथा परिवारका ज्येष्ठ सदस्यकहाँ पुगेर टीका लगाउने र आशीर्वाद लिनेहरू बिहानैदेखि व्यस्त छन् ।
विजयादशमीका दिन आफ्नै घरपरिवारमा टीका लगाएपछि दोस्रो दिनदेखि टाढा रहेका आफन्त र मान्यजनकहाँ पुगेर टीका थाप्ने तथा आशीर्वाद लिने परम्परा छ । टाढा रहेका आफन्तकहाँ पुग्न नसक्नेहरू पनि कोजाग्रत पूर्णिमासम्म टीका लगाउन जाने गर्दछन् ।
नेपालका केही स्थानमा विजयादशमीका दिन मात्रै टीका लगाउने चलन रहे पनि अधिकांश ठाउँमा भने दसैँको टीका कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नवदुर्गा भवानीको प्रसादका रूपमा ग्रहण गरिने दसैँको टीका र जमरा कोजाग्रत पूर्णिमासम्म लगाएर मान्यजनबाट आशीर्वाद लिन सकिन्छ । यस अवधिमा परिवार तथा आफन्तबीच भेटघाट गर्ने, सुख–दुःख साटासाट गर्ने र आपसी सद्भाव सुदृढ बनाउने क्रम पनि जारी रहन्छ ।
