अल्बानिया । अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन् । तर उनलाई कीर्तिमानभन्दा जीवनको आनन्द र परिवारसँगको समय बढी प्रिय छ । उनको जन्ममिति सन् १९०९ अगस्ट १९ प्रमाणित भएमा बेलायतकी एथेल क्याटरहमभन्दा दुई दिन जेठी हुनेछिन् । क्याटरहमलाई गिनिज वल्र्ड रेकर्ड्सले सबैभन्दा वृद्ध जीवित महिलाका रूपमा मान्यता दिएको छ ।
दोस्रो विश्वयुद्धको अन्त्य हुनुभन्दा दुई साताअघि नै ३६ वर्ष पुगेकी मार्राले ओटोमन शासनदेखि अल्बानियाको कम्युनिस्ट शासनसम्मका परिवर्तन देखेकी छन् । राजधानीबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको फेरासमा बस्ने उनी फलफूलका रूखले घेरिएको घरमा आफ्नै खानेकुरा उब्जाउने र गाईवस्तु पाल्ने काम गर्थिन् । ‘जीवन सुन्दर छ, माउन्ट टोमोरजस्तै फुलेको छ’, उनले मुस्कुराउँदै भनिन् । उनको विश्वास छ, “भगवान्ले जति समय बाँच्न लेख्नुभएको छ, मानिस त्यतिन्जेल बाँच्छ ।’
उनको उमेर पुष्टि गर्ने सन् १९४५ को जन्म प्रमाणपत्र, सन् १९७८ को राहदानी र हालसालैको परिचयपत्र परिवारसँग सुरक्षित छन् । सबै कागजातमा एउटै जन्ममिति उल्लेख छ । उमेर प्रमाणित गर्न कठिन हुने र कतिपय ठाउँमा अभिलेख व्यवस्थापन कमजोर हुने विषयलाई सन् २०२४ मा आइजी नोबेल पुरस्कार पाएको एक अध्ययनले पनि औँल्याएको थियो ।
मार्राका ८० वर्षीय छोरा हाइसेनका अनुसार, आमाको उमेर १०० वर्ष पुग्दा स्थानीय अधिकारीहरूले उनी जीवितै रहेको विश्वास नगरेर पेन्सन रोकेका थिए । त्यसपछि साक्षीको बयानसहित प्रमाण पेस गरेपछि मात्र पेन्सन पुनः सुरु भएको थियो । यसै महिनाको सुरुमा सरकारले उनको उमेरलाई मान्यता दिँदै विशेष राज्य पेन्सन उपलब्ध गराएको छ ।
मार्रा अझै बिहान उठेर आँगन सफा गर्छिन्, फूलमा पानी हाल्छिन् र कफी पिउनुअघि कुखुरालाई दाना दिन्छिन् । छोरासँग बगैँचामा हिँड्दै पाकेका अनार टिप्छिन् र सुगन्ध लिन तुलसीका पात खल्तीमा राख्छिन् । छोराका अनुसार उनको स्वास्थ्य राम्रो छ र उनले कहिल्यै औषधि लिएकी छैनन् ।
श्रीमान्को निधन भएको ३६ वर्ष बितिसक्दा पनि उनी सँगै बिताएका दिन सम्झेर मुस्कुराउँछिन् । परिवारले मिलाइदिएको विवाह मायालु रहेको उल्लेख गर्दै उनले भनिन्, ‘नत्र म उहाँसँग सात सन्तान कसरी जन्माउन सक्थेँ र ?’
मार्राले परिवारका पाँच पुस्ता हुर्किएको देखेकी छन् । आफन्त र साथी गुमाउँदाको पीडा सम्झँदा उनी भावुक बन्छिन्, तर परिवारका सदस्य घर आउँदा खुसी हुन्छिन् । ‘मैले उनीहरूको मगनी, विवाह र आफ्नै घर तथा जीवन निर्माण गरेको देखेकी छु’, उनले भनिन् । युवावस्थाको सम्झनाका रूपमा उनीसँग सेतो पछ्यौरा लगाएको आफ्नै तस्बिर छ । उक्त तस्बिर झन्डै एक शताब्दी पुरानो हो ।
