मिस्त्रीखोलाले बगाएर एक जनाको मृत्यु, एक जना बेपत्ता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा  मिस्त्रीखोलाले बगाएर मंगलबार एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् ।

खोलाले बगाएर स्थानीय छ वर्षीया अनिशा बुढामगरको मृत्यु भएको र तीन वर्षीया कृष्टिका बुढामगर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक भूपेन्द्र गोतामेले जानकारी दिए ।

“दाउरा खोज्न गएका अभिभावकको पछि लागेर गएका बालिकाहरुलाई मिस्त्रीखोलाले बगाएर बेपत्ता बनाएको हो,” उनले भने, “अनिशाको शव भेटिएको छ भने कृष्टिकाको खोजी जारी छ ।” मृतक र बेपत्ता बालिका दुई बहिनीका छोरीहरु हुुन् ।

सो घटनाको जानकारी हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयबासी समेतको सहभागितामा बालिकाको खोजी भइरहेको छ ।

यसैबीच, नारच्याङका बासिन्दा तमबहादुर चोचाङ्गी पुनले मिस्त्रीखोला जलविद्युत् आयोजनाको गम्भीर लापरबाहीका कारण घटना भएको बताए ।

“बिहान सुकेको खोलामा जलविद्युत् आयोजनाले पूर्वसूचना बिनै बाँधबाट एक्कासि पानी छोडेका कारण बालिकाहरुलाई बगाएको हो,” उनले भने ।   घटनाको सन्दर्भमा अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक गोतामेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *