विश्वकप लिग-२ मा ओमानलाई हराउँदै नेपाल छैटौँ

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ । सोमबार बेलुकी सम्पन्न खेलमा ओमानलाई १० रनले पराजित गर्दै नेपालले क्रिकेट विश्वकप लिग-२ मा छैटौँ स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको हो ।

जितको लागि २ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७० रनमात्र बनाउन सक्यो । ओमानको लागि जतिन्दर सिंह र हामद मिर्जाले अर्धसतक बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् । जतिन्दरले १ सय १४ बलमा ७ चौका र एक छक्काको मद्दतमा ८९ रन बनाए । यस्तै मिर्जाले ९७ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ८७ रन बनाउँदा हसनैन शाहले ४०, हसनैन उल वहावले १५ र विनय शुक्लाले १३ रनको योगदान गरे ।

नेपालको लागि ललित राजवंशी र दीपेन्द्र सिंह एरीले समान दुई/दुई विकेट लिँदा नन्दन यादव र सन्दीप लामिछानेको नाममा एक/एक विकेट रह्यो ।

यसअघि अल अमेराट क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ८० रन बनाएको थियो । नेपालको लागि रोहित पौडेल, दीपेन्द्र सिंह एरी र देव खनालले अर्धसतक बनाए । रोहितले ८१ बलमा २ चौका र २ छक्काको मद्दतमा ८० रन बनाए । यस्तै दीपेन्द्र सिंह एरीले ६२ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा ६९ रन बनाउँदा देव खनालले ५७ रन बनाए । उनले ६५ बलमा ४ चौका र १ छक्का बनाए । यस्तै इशान पाण्डेले २९ र बासिर अहमदले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

ओमानको लागि शाह फैसलले ८ ओभरमा ५७ रन दिएर पाँच विकेट लिए । जय ओडेद्राले १० ओभरमा ४४ रन खर्चेर तीन विकेट लिँदा समय श्रीवास्तभाले दुई विकेट आफ्नो नाममा लेखाए ।

जितसँगै नेपाल ३६ खेलबाट ३० अंक जोड्दै छैटौँ स्थानमा रहेर प्रतियोगिताको अन्त्य गर्दा चार खेल कम खेलेको ओमान ३३ रनको साथ चौथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *