नेपाल क्यानडासँग पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो हार बेहोरेको छ । शनिबार बेलुकी सम्पन्न खेलमा क्यानडासँग २४ रनले पराजित भएसँगै नेपालले एक खेल अगावै शीर्ष ६ मा आफ्नो स्थान सुरक्षित गर्ने अवसर गुमाएको हो ।

जितको लागि २ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमा अलआउट हुँदै २ सय ३२ रनमात्र बनाउन सक्यो । नेपालको लागि अर्जुन कुमालले अर्धसतक बनाए । उनले १ सय १२ बलमा ४ चौकाको मद्दतमा ८७ रन बनाउँदै एकदिवसीयमा पहिलो अर्धसतक पूरा गरे । यस्तै दीपेन्द्र सिंह एरीले २७ तथा गुलसन झा र इशान पाण्डेले समान २१/२१ रन बनाए । रोहित पौडेलले १८ रन बनाउँदा करण केसी १७ रनमा नटआउट रहे ।

क्यानडाको लागि सुख्जिन्दर सिंहले तीन तथा कालिम साना र शेर पटेलले दुई/दुई र जाहिद शिर्जादले एक विकेट लिए ।

यसअघि ओमानको अल अमेराट क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा १० विकेटको क्षतिमा २ सय ५६ रन बनाएको थियो  । क्यानडाको लागि युवराज सम्राले सतक बनाए । उनले १ सय १७ बलमा ११ चौका र ४ छक्काको मद्दतमा १ सय ५ रन बनाए । यस्तै एरोन जोनसनले ३६, हर्ष ठाकरले ३४, कप्तान हम्जा तारिकले ३०, समित गोहेलले १७ र आदित्य वरादराजनले १२ रन बनाए ।

नेपालको लागि ललित राजवंशीले १० ओभरमा २ मेडन राख्दै ३९ रन दिएर ४ विकेट लिए । यस्तै सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ४९ रन खर्चेर तीन विकेट लिँदा दीपेन्द्र सिंह एरीले दुई र रोहित पौडेलले एक विकेट लिए ।

जितसँगै क्यानडा ३६ खेलबाट २९ अंक जोड्दै अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको नेपाल २८ अंकको साथ सातौँ स्थानमा झरेको छ । अब शीर्ष ६ मा उक्लिन नेपाललाई अन्तिम खेलमा घरेलु टोली ओमानविरुद्ध जितको विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *