गण्डकी । कास्कीका ऐतिहासिक पाँच कोटलाई समेटेर आइतबार आयोजना गरिएको ‘पोखरा पाँचकोट ५० किलोमिटर अल्ट्रा ट्रेल रेस–२०८३’अन्तर्गत पुरुषतर्फको उपाधि मनकुमार रोका मगरले हात पारेका छन् ।
निर्धारित ५० किलोमिटरको दूरी पाँच घण्टा २१ मिनेट ५४ सेकेण्डमा पूरा गर्दै उनले उपाधि हासिल गरेको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराले जनाएको छ ।
यस विधामा तिलकबहादुर सुनुवारले दोस्रो स्थान प्राप्त गरे । उनले पाँच घण्टा २२ मिनेट ३७ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए । तेस्रो स्थान हासिल गर्नुभएका दलबहादुर कुँवरले पाँच घण्टा २९ मिनेट १२ सेकेण्डमा दौड पूरा गरे । पाँच घण्टा ४३ मिनेट ४१ सकेण्डमा दूरी पार गर्दै रेमश लिम्बूले चौथो स्थान प्राप्त गरे । अर्जुन कुलुङ राईले छ घण्टा १८ मिनेट ३५ सकेण्डमा निर्धारित दुरी पार गरी पाँचौ स्थान हासिल गरे ।
पचास किलोमिटर महिलातर्फ कल्पना बुढाले उपाधि जितिन् । उनले निर्धारित दूरी सात घण्टा १७ मिनेट २४ सेकेण्डमा पूरा गरे । निर्मला राईले सात घण्टा २१ मिनेट ३७ सेकेण्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरिन् । सात घण्टा २४ मिनेट २४ सेकेण्डमा दौड पूरा गरी सन्देवा बुढा तेस्रो भइन् । आठ घण्टा ३८ मिनेट ३० सेकेण्डमा दौड पूरा गरी कोपिला श्रेष्ठले चौथो स्थान हासिल गर्दा निरुता कोइरालाले आठ घण्टा ४५ मिनेट ४६ सेकेण्डमा निर्धारित दूरी पार गरी पाँचौँ स्थान प्राप्त गरिन् ।
त्यस्तै, १६ किलोमिटर पुरुषतर्फ एक घण्टा सात मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गरी धीरोजबहादुर बुढाले उपाधि जितिन् । श्रीकास राईले एक घण्टा आठ मिनेट एक सेकेण्डमा दूरी पार गरी दोस्रो स्थान हासिल गरे । एक घण्टा आठ मिनेट छ सेकेण्डमा दौड पूरा गरी निरोज भट्ट तेस्रो स्थान हासिल गरे । एक घण्टा नौ मिनेट १२ सकेण्डमा दौड पूरा गरी गोपाल तामाङ चौथो भए ।
सोह्र किलोमिटर महिलातर्फ दीपा बस्नेतले पहिलो स्थान प्राप्त गरिन् । उनले एक घण्टा ३० मिनेट चार सेकेन्डमा निर्धारित दूरी पार गरिन् । विपना लामा एक घण्टा ३० मिनेट ३४ सेकेण्डमा दूरी पार गर्दै दोस्रो हुँदा सन्जिला राईले एक घण्टा ३९ मिनेट छ सेकेण्डमा दौड पूरा गरी तेस्रो स्थान हासिल गरिन् । सरस्वती डुम्राकोटी एक घण्टा ४० मिनेट ३६ सकेण्डमा दौड पूरा गरी चौथो भइन् ।
पचास किमीतर्फ पहिलो हुने पुरुष तथा महिला धावकले जनही एक लाख ५० हजार, दोस्रो हुनेले रु एक लाख, तेस्रो हुनेले रु ७५ हजार, चौथो हुनेले रु २५ हजार र पाँचौँ स्थान हासिल गर्नेले रु १५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गरेका थिए ।
त्यस्तै, १६ किमीतर्फ पहिलो हुनेले रु २५ हजार, दोस्रो हुनेले रु १५ हजार, तेस्रो हुनेले रु १० हजार र चौथो हुनेले रु पाँच हजारसहित पदक र प्रमाणपत्र प्राप्त गरेका थिए ।
पुरुष र महिला दुवै विधातर्फ समान पुरस्कार राशि प्रदान गरिएको हो । प्रतियोगिताका विजेता धावकहरूलाई नेपाली सेनाका पश्चिम पृतनापति उपरथी भोलानाथ थापा, कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराका अध्यक्ष दिलबहादुर गुरुङलगायतले नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।
पचास किमीको दौड पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोटबाट सुरु भई सराङकोट, विन्ध्यवासिनी मन्दिर, जौबारी पुल, पानी ट्याङ्की, घार्मीडाँडा, ढिकीडाँडा, झुप्राङकोट, बलायँखर्क, महापुरुष डाँडा, च्होगो डाँडा, अर्मलाकोट, कुरा गाउँ, पीपलडाली, र्यालेचौर, काहुँकोट हुँदै नेपाली सेनाको फूलबारी ब्यारेकमा पुगेर समाप्त भएको थियो ।
सोह्र किमीको दौड कास्कीकोटबाट सुरु भई सराङकोट, विन्ध्यवासिनी मन्दिर, हरिचोक, सिम्पानीचोक, बगर ट्याक्सीचोक, पृथ्वीनारायण क्याम्पस, बालमन्दिर माध्यमिक विद्यालय, नारायण थान, पहेँलो पुल हुँदै पोखरा महानगरपालिका–११ स्थित फूलबारी ब्यारेकमा गई सकिएको थियो । पोखराको विजयपुरस्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको विशेष सहयोगमा उक्त दौड प्रतियोगिता आयोजना गरिएको थियो ।
नेपाल भूतपूर्व खेलाडी मञ्चका पूर्वध्यक्ष एवं प्रतियोगिताका ‘रेस डाइरेक्टर’ तेज गुरुङले नेपालको शाहवंशीय इतिहाससँग जोडिएको कास्कीकोटसहित ऐतिहासिक महत्वका सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुँकोटलाई समेटेर अल्ट्रा ट्रेल दौड आयोजना गरिएको बताइन् । यस दौड प्रतियोगिताले प्रकृति, संस्कृति र साहसिकतासँगै इतिहासलाई पनि जोडेको उनको भनाइ छ ।
