बीबीसी । अमेरिकाको टेनेसीमा मृत्युदण्डको सजाय पाएकी क्रिस्टा पाइक दुई पटक घातक इन्जेक्सन दिइएपछि पनि जीवित रहेकी छन् । उनलाई अहिले अस्पतालमा जीवनरक्षाका लागि उपचार भइरहेको र अवस्था गम्भीर रहेको उनका वकिलले बताएका छन् ।
पाइकका वकिल र्यान्डी स्पाइभीले बिहीबार उनी जीवित रहेको पुष्टि गर्दै स्वास्थ्य अवस्थाबारे तत्काल थप जानकारी प्राप्त नभएको बताए । ५० वर्षीया पाइकलाई सन् १९९६ मा १९ वर्षीया कोलिन स्लेमरको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो । बुधबार उनलाई पेन्टोबार्बिटलको घातक मात्रा दिइएको थियो ।
पहिलो प्रयास प्रभावकारी नभएपछि राज्यको कार्यविधिअनुसार दोस्रो मात्रा दिइएको थियो । तर उनी त्यसपछि पनि जीवित रहेकी थिइन् । त्यसपछि उनलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो ।
पाइक १८ वर्षकी हुँदा तत्कालीन प्रेमी टाडारिल शिपसँग मिलेर स्लेमरलाई कुटपिट तथा यातना दिएर हत्या गरेको अभियोगमा दोषी ठहरिएकी थिइन् ।
उनको मृत्युदण्ड कार्यान्वयनअघि अन्तिम समयमा कानुनी चुनौतीसमेत परेको थियो । अमेरिकी सर्वोच्च अदालतले भने घातक इन्जेक्सन दिने प्रक्रिया अघि बढाउन अनुमति दिएको थियो ।
पाइकका वकिलका अनुसार मृत्युदण्ड कार्यान्वयन टोलीले उनको शरीरमा औषधि प्रवाह गर्ने नसाको लाइन राख्न करिब एक घण्टा प्रयास गरेको थियो । त्यस क्रममा उनको बायाँ हातमा कम्तीमा सातवटा सुई प्रयोग गरिएको थियो ।
दोस्रोपटक घातक औषधि दिइसकेपछि पनि पाइकले सास फेरिरहेको देखिएको वकिल स्पाइभीले बताए । उनका अनुसार त्यसपछि पर्यवेक्षकहरूलाई पर्दापछाडि राखिएको थियो र उपचार टोलीले कहिले हस्तक्षेप गर्यो भन्नेबारे आफूलाई जानकारी नभएको उनले बताए ।
पाइकका वकिलहरूले उनको मृत्युदण्डको सजायलाई परिवर्तन गर्न माग गरेका छन् । उनीहरूले मृत्युदण्डका क्रममा पाइकले अनावश्यक पीडा भोग्नुपरेको दाबी गरेका छन् ।
टेनेसीका गभर्नर बिल लीले घटनाको स्वतन्त्र छानबिनको आदेश दिएका छन् । उनले अनुसन्धान “पूर्ण रूपमा गरिने” बताउँदै घटनाबारे धेरै प्रश्न उठेको बताएका छन् ।
घटनापछि गभर्नर लीले यस वर्षका लागि टेनेसीमा हुने सबै मृत्युदण्ड स्थगित गरेका छन् । यस निर्णयका कारण आगामी डिसेम्बर ३ मा तय गरिएको दोषी हत्यारा ग्यारी सटनको मृत्युदण्डसमेत प्रभावित हुनेछ ।
तर टेनेसी सुधार विभागले भने आफ्नो कार्यविधिअनुसार नै मृत्युदण्ड कार्यान्वयन गरिएको दाबी गरेको छ । विभागले महान्यायाधिवक्ताको कार्यालयबाट स्वीकृत राज्यको स्थापित प्रोटोकलका सबै चरण पालना गरिएको जनाएको छ ।
