कास्पारोभको जीवन खतरामा रहेको चेतावनी

पेरिस । क्रेमलिनका आलोचक तथा चेसका पूर्वविश्वविजेता ग्यारी कास्पारोभले अमेरिकी र लिथुआनियाली सुरक्षा निकायले आफ्नो तथा सहयोगी इभान त्युट्रिनको जीवन खतरामा रहेको जानकारी दिँदै सुरक्षा सावधानी अपनाउन आग्रह गरेको बताएका छन्।

कास्पारोभले आफू र फ्रि रसिया फोरमका सहसंस्थापक त्युट्रिन हत्या गर्ने लक्ष्यको सूचीमा रहेको समाचार स्तब्ध पार्ने भए पनि आफूलाई आश्चर्य नलागेको बताए। उनले सुरक्षा निकायको चेतावनीपछि आवश्यक सावधानी अपनाएको र त्यसलाई निरन्तरता दिने बताए।

उनको भनाइ अमेरिकी न्याय मन्त्रालयले सेप्टेम्बरको मध्यमा संयुक्त राज्य अमेरिकासहित विभिन्न मुलुकमा आक्रमण तथा हत्या गर्ने षड्यन्त्र गरेको आरोपमा रुसी गुप्तचर निकायका पाँच कथित एजेन्टविरुद्ध अभियोग लगाएपछि आएको हो। विभागका अनुसार ती समूहले अमेरिकामा बसोबास गर्ने एक प्रमुख रुसी असन्तुष्टको हत्या गर्ने प्रयास गरेका थिए। ती व्यक्तिलाई ‘भिक्टिम–१’ का रूपमा पहिचान गरिएको छ।

स्पेनको अखबार ‘एल मुन्डो’ ले कास्पारोभका निकट स्रोतलाई  उदृत गर्दै रुसी एजेन्टहरूले उनी र पूर्वरुसी सांसद इल्या पोनोमारोभको हत्या गर्ने षड्यन्त्र गरेको जनाएको थियो। कास्पारोभले भने आफू र त्युट्रिन नै अभियोगमा उल्लेख गरिएका सम्भावित लक्ष्य हुन् भन्ने कुरा आफूहरूलाई स्पष्ट रूपमा नबताइएको बताएका छन्।

सन् २०१६ मा कास्पारोभ र त्युट्रिनले फ्रि रसिया फोरम स्थापना गरेका थिए। रुसी सरकारले सन् २०२३ मा उक्त संस्थालाई ‘अवाञ्छनीय सङ्गठन’ घोषणा गरेको थियो भने सन् २०२५ मा ‘आतङ्कवादी’ सङ्गठनको सूचीमा राखेको थियो।

अमेरिकी न्याय मन्त्रालयका अनुसार रुसी एजेन्टहरूले लिथुआनियामा पनि ‘भिक्टिम–२’ को हत्या गर्ने प्रयास गरेका थिए। एक अमेरिकी नागरिकलाई हत्या गरेबापत पाँच हजार डलर दिने प्रस्ताव गरिएको र पेट्रोलको बोतल वा छुरी प्रयोग गर्न सुझाइएको मन्त्रालयले जनाएको छ।

भिल्नियसमा निर्वासनमा बस्दै आएका त्युट्रिनले आफू नै ‘भिक्टिम–२’ हो कि होइन भन्ने थाहा नभएको बताएका छन्। तर अमेरिकी अधिकारीहरूले षड्यन्त्रबारे जानकारी सार्वजनिक गरेपछि लिथुआनियाली पक्षले आफूलाई तत्काल घर छाड्न र गाडी हटाउन चेतावनी दिएको उनले एएफपीलाई बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *