सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

काठमाडौँ । सुनचाँदी तथा त्यसबाट बनेका गरगहनाको बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न आन्तरिक राजस्व विभागले ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ।

आर्थिक ऐन, २०८३ को दफा १४ अनुसार नेपालमा उपभोक्तालाई सुन, चाँदी तथा तिनका गरगहना र वस्तु बिक्री गर्दा बिक्री मूल्यमा सीप प्रवर्द्धन शुल्क लगाउने व्यवस्था भएपछि विभागले यसको प्रशासन, असुली, दाखिला, लेखाङ्कन, विवरण पेस, परीक्षण तथा पुनरावेदनसम्बन्धी प्रक्रिया स्पष्ट पार्दै कार्यविधि ल्याएको हो।

कार्यविधिअनुसार अन्तिम उपभोक्तालाई बिक्री हुने सुन, चाँदी तथा तिनबाट बनेका गरगहना र वस्तुको बिक्री मूल्यमा ०।५ प्रतिशत सीप प्रवर्द्धन शुल्क लाग्नेछ। यस्तो शुल्क बिक्रीकै समयमा उपभोक्ताबाट असुल गर्नुपर्नेछ।

शुल्क लाग्ने कारोबार गर्ने व्यवसायीले तोकिएको ढाँचामा बिजक जारी गर्नुपर्नेछ। कारोबारको लेखाङ्कन प्रोद्भावी (एक्रुअल) आधारमा गर्नुपर्ने र कारोबार भएको वा नभएको दुवै अवस्थामा प्रत्येक महिनाको विवरण अर्को महिनाको २५ गतेभित्र सम्बन्धित राजस्व कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

तोकिएको समयमा विवरण पेस नगरेमा लाग्ने शुल्कको प्रतिदिन ०.०५ प्रतिशत वा प्रतिविवरण एक हजार रुपैयाँमध्ये जुन बढी हुन्छ, सोहीबराबर थप शुल्क लाग्नेछ। उपभोक्ताबाट सङ्कलन गरिएको शुल्क पनि अर्को महिनाको २५ गतेभित्र राजस्व शीर्षक नम्बर ११४१३ मा दाखिला गर्नुपर्नेछ। तोकिएको समयमा शुल्क दाखिला नगरे वार्षिक १५ प्रतिशत ब्याज लाग्ने व्यवस्था गरिएको छ।

कार्यविधिले व्यवसायी र कालीगढबीच सुनचाँदी तथा गरगहनाको ओसारपसारलाई समेत व्यवस्थित गरेको छ। व्यवसायीले आफ्नो पसलबाट गरगहना निर्माणका लागि कालीगढकोमा तथा निर्माणपछि कालीगढबाट व्यवसाय सञ्चालन भएको स्थानमा सामान लैजाँदा सम्बन्धित कार्यालयको छाप लागेको तोकिएको ढाँचाको चलान साथमा राख्नुपर्नेछ। गरगहना निर्माण गर्ने कालीगढले स्थायी लेखा नम्बर लिनुपर्नेछ।

पुरानो सुनचाँदीको कारोबारमा समेत कार्यविधिले स्पष्ट व्यवस्था गरेको छ। ग्राहकबाट पुरानो गरगहना खरिद गरी सोही ग्राहकलाई पुरानो गरगहनाको तौल बराबरको मूल्यसम्म नयाँ गरगहना बिक्री गर्दा सीप प्रवर्द्धन शुल्क नलाग्ने व्यवस्था छ। तर पुरानो तौलभन्दा थप सुन वा चाँदी प्रयोग गरी नयाँ गरगहना बिक्री गरेमा थप गरिएको सुन वा चाँदीको मूल्य तथा सम्पूर्ण ज्याला–जर्तीमा शुल्क असुल गर्नुपर्नेछ।

व्यवसायीलाई सुनचाँदी बिक्री गर्ने व्यक्तिले आफ्नो परिचय खुल्ने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, स्थायी लेखा नम्बर प्रमाणपत्र वा सरकारले जारी गरेको अन्य परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ। साथै बिक्री गरिने सुनचाँदी वा गरगहना आफूले खरिद गरेको प्रमाणसमेत देखाउनुपर्नेछ। विदेशबाट ल्याइएको सुनचाँदी भए त्यसको स्रोत खुल्ने प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रत्येक सुनचाँदी व्यवसायीले आफ्नो पसलमा कार्यविधिले तोकेको ढाँचाको सूचना पाटी राख्नुपर्नेछ। कारोबार परीक्षणका क्रममा शुल्क छली भएको पाइएमा कर अधिकृतले शुल्क निर्धारण गर्न सक्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ।

शुल्क असुल नगर्ने, बिक्री कारोबारलाई खण्डीकरण गर्ने, वास्तविक कारोबारभन्दा कम कारोबार घोषणा गरी न्यून शुल्क असुल गर्ने वा अन्य माध्यमबाट शुल्क छली गरेको पाइएमा निर्धारित शुल्कमा २५ प्रतिशत अतिरिक्त शुल्क लाग्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *