काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री बालेन साह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएको विषयमा संसद्लाई जानकारी नगराइएको भन्दै आपत्ति जनाएको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले प्रधानमन्त्रीको विदेश भ्रमण संसद्प्रति जवाफदेही हुनुपर्ने बताउँदै भ्रमणको उद्देश्य र उपलब्धिबारे सदनलाई जानकारी गराउन माग गरेकी हुन् ।
उनले प्रधानमन्त्रीले विदेश भ्रमणमा जानुअघि त्यसको उद्देश्य, एजेन्डा र राष्ट्रहितका प्राथमिकताबारे संसद्लाई जानकारी गराउनुपर्ने बताइन् । त्यस्तै, भ्रमणबाट फर्किएपछि भएका महत्वपूर्ण भेटवार्ता र उपलब्धिबारे पनि सदनलाई जानकारी दिनुपर्ने उनको भनाइ थियो ।
उनले भनिन्,‘प्रधानमन्त्रीज्यू नेपालको कार्यकारी प्रमुख मात्र होइन, यही प्रतिनिधिसभाबाट निर्वाचित पनि हुनुहुन्छ । त्यसैले उहाँको विदेश भ्रमण संसद्प्रति जवाफदेही हुनैपर्छ ।’
सरकारले प्रधानमन्त्रीको न्युयोर्क भ्रमण स्वीकृत गरेको सार्वजनिक भए पनि संसद्मा त्यसबारे जानकारी नदिइएको उल्लेख गर्दै उनले संसदीय अभ्यासलाई गम्भीरतापूर्वक लिन आग्रह गरिन् ।
प्रधानमन्त्रीले संसद्लाई जानकारी नगराउने हो भने सरकार सदनप्रति जवाफदेही नभएको सन्देश जाने उनले बताइन् ।
प्रधानमन्त्री साह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका थिए । महासभालाई सम्बोधन गरेर उनी असोज १० गते स्वदेश फर्किएका हुन् ।
महासभामा प्रधानमन्त्री ािहले नेपालमा जलवायु परिवर्तनले पारेको असर, भोटेकोशी बाढीपहिरोबाट भएको क्षति, पर्वतीय देशले भोगिरहेका संकट र जलवायु न्यायको विषय उठाएका थिए ।
