वेस्टइन्डिजविरुद्धको पहिलो एकदिवसीयमा भारत विजयी

एजेन्सी । घरेलु मैदानमा शुरु एकदिवसीय सिरिजको पहिलो खेलमा भारत विजयी भएको छ । आइतबार राति सम्पन्न पहिलो खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको हो ।

जितको लागि २ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४१.४ ओभरमा २ विकेटको क्षतिमा ३०० रन बनाउँदै लक्ष्य भेट्टाएको हो । भारतको लागि कप्तान शुभ्मन गिल र विराट कोहलीले सतक बनाए  । कोहलीले ८८ अबक खेल्दै १० चौका र ९ छक्काको मद्दतमा अवजित १ सय ३९ रन बनाउँदा गिलले १ सय १० रन बनाए । उनले १ सय ८ बल खेल्दै १३ चौका र एक छक्का प्रहार गरे । यस्तै रोहित शर्माले ३२ र रुतराज गैकवाडले अवजित १३ रन बनाए ।

वेस्ट इन्डिजको लागि अल्जारी जोसेफ र रोस्टन चेसले समान एक/एक विकेट लिए ।

यसअघि ग्रिन फिल्ड अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ९५ रन बनाएको थियो । वेस्ट इन्डिजको लागि जस्टिन ग्रेभेसले सतक तथा अमिर जान्गो र जोन क्याम्पबेलले अर्धसतक बनाए । जस्टिनले १ सय ८ बल खेल्दै १२ चौकाको मद्दतमा १ सय १ रन बनाउँदा क्याम्पबेलले ६२ रन बनाए । उनले ६० बलमा ६ चौका र ३ छक्का प्रहार गरे । यस्तै अमिर जान्गोले ४३ बलमा ७ चौका र एक छक्कामो मद्दतमा ५८ रन बनाउँदा रोस्टन चेसले २४, केसी कार्टीले १३ र शाइ होपले १२ रन बनाए ।

बलिङतर्फ कुलदिप यादवले १० ओभरमा एक मेडन राख्दै ४० रन दिएर चार विकेट लिँदा प्रसिद्ध कृष्णले दुई र नितिश कुमार रेड्डीले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *