पाल्पा र बागलुङमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु

पाल्पा । पाल्पा र बागलुङमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । पाल्पा जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो । दुवै जनाको शव निकालिएको छ ।

दुवै शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ । यसैगरी, पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् । माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टामा पहिरोले लिलबहादुर घर्तिमगरको घर पुरिएको छ । घर्तीको परिवारका दुई जना र छिमेकीकी एक छोरी हराइरहेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले जाकारी दिए

त्यसैगरी बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन जना छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो । केहीबेर अघि तीन जनाको शव निकालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *