विराटनगर । प्रहरीले मोरङको विराटनगरबाट ३९८ किलो लागूऔषध गाँजासहित स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार राति करिब १० बजे विराटनगर महानगरपालिका–३ स्थित आयल निगम सडकमा प्रहरीले गरेको चेकजाँचका क्रममा गाँजा बरामद भएको हो।
इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को १ च ७३९९ नम्बरको स्कार्पियोले प्रहरी चेकिङ टोलीलाई देखेपछि युटर्न गरेर भाग्ने क्रममा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिएको थियो।
दुर्घटनापछि प्रहरीले स्कार्पियो जाँच गर्दा गाडीभित्र लुकाइछिपाइ राखिएको १३ पोका गाँजा बरामद गरेको जनाएको छ।
स्कार्पियो चालक घटनास्थलबाट फरार भएका छन्। उनको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा कार चालकको अवस्था सामान्य रहेको र मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
