विराटनगर । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन गर्दै विश्वविद्यालयका पदाधिकारीसँग अन्तक्र्रिया गरेका छन् । मधेस प्रदेशका विभिन्न जिल्लाको भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयको समग्र अवस्था, सञ्चालनमा रहेका कार्यक्रम तथा विश्वविद्यालयले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी लिएका हुन् ।
अवलोकनका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयका भौतिक संरचना, शैक्षिक गतिविधि, प्रशासनिक सेवा तथा व्यवस्थापनका बारेमा जानकारी लिएका थिए । सो अवसरमा मन्त्री पोखरेलले विश्वविद्यालयको शैक्षिक गुणस्तर, प्रशासनिक दक्षता, प्रविधिको प्रयोग तथा सेवाप्रवाहमा सुधार ल्याउँदै विश्वविद्यालयलाई समयानुकूल र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न सबैले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिए ।
उनले परीक्षाको नतिजा चाँडो ल्याउने वातावरण बनाइनुपर्नेमा जोड दिँदै विश्वविद्यालयको सम्पत्ति र भौतिक पूर्वाधारको उपयोग गरिनुपर्नेमा जोड दिए । मन्त्री पोखरेलले विश्वविद्यालयलाई समयअनुकूल र प्रविधिमैत्री बनाउँदै शैक्षिक तथा प्रशासनिक क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । उनले विश्वविद्यालयको विकास केवल भौतिक पूर्वाधार निर्माणमा सीमित नभई गुणस्तरीय शिक्षा, सक्षम जनशक्ति, प्रभावकारी प्रशासन र प्रविधिमैत्री सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बताएका थिए ।
मन्त्री पोखरेलले विश्वविद्यालयका समस्या र आवश्यकताबारे मन्त्रालयको तहबाट सहजीकरण तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी विश्वविद्यालयले अघि सारेका प्राथमिकताका योजनालाई उपलब्ध स्रोत, कानुनी व्यवस्था र संस्थागत क्षमताका आधारमा क्रमशः अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
विश्वविद्यालयका उपकुलपति प्रा डा सुजनबाबु मरहट्टाले विश्वविद्यालयलाई प्रविधिमैत्री र आधुनिक संस्थाका रूपमा विकास गर्न विद्युतीय सुशासनलाई उच्च प्राथमिकताका साथ अघि बढाइने बताए । उनले विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक गतिविधिलाई प्रविधिमा आधारित, पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन आवश्यक सुधारका कार्यलाई तीव्रता दिइने उल्लेख गरे ।
कार्यक्रममा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले विश्वविद्यालयको वर्तमान आवश्यकता र चुनौतीलाई सम्बोधन गर्न परम्परागत कार्यशैलीमा मात्र निर्भर नभई समस्या समाधानका लागि परिवर्तनकारी नीति आवश्यक रहेको बताए । उनले विगतमा भएका केही कार्य सराहनीय भए पनि आगामी दिनमा विश्वविद्यालयका काम स्पष्ट र मापनयोग्य प्रतिफल देखिनेगरी अघि बढाउनुपर्नेमा जोड दिए ।
विश्वविद्यालयका पदाधिकारीले सञ्चालनमा रहेका शैक्षिक कार्यक्रम, विद्यार्थीको अवस्था, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा विश्वविद्यालयका आगामी योजनाबारे मन्त्री पोखरेललाई जानकारी गराएका थिए ।
अन्तक्र्रियामा विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रशासनिक सुधार, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, प्रविधिको अधिकतम प्रयोग गर्ने तथा विश्वविद्यालयका विकास योजनालाई गति दिने विषयमा छलफल भएको थियो ।
त्यस क्रममा विश्वविद्यालयमा अस्पताल सञ्चालनको तयारी, आवश्यक जग्गा व्यवस्थापन तथा पूर्वाधार विकासका विषयमा समेत छलफल भएको थियो । विश्वविद्यालयले स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित कार्यक्रमलाई थप व्यवस्थित रूपमा अघि बढाउन अस्पताल सञ्चालनलाई महत्त्वपूर्ण योजनाका रूपमा अघि सारेको जानकारी गराइएको थियो ।
अन्तक्र्रियामा विश्वविद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थीलाई गुणस्तरीय शिक्षा र प्रयोगात्मक सिकाइको अवसर उपलब्ध गराउने, प्रशासनिक प्रक्रियालाई सरल बनाउने तथा विश्वविद्यालयलाई प्रतिस्पर्धी र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने विषयलाई प्राथमिकतामा राखिएको थियो ।
मन्त्री पोखरेलले मधेस प्रदेश भ्रमणका क्रममा धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाका विभिन्न शैक्षिक संस्थाको समेत अवलोकन गरेका थिए । सो क्रममा सामुदायिक विद्यालयमा विद्यार्थीको दोहोरो विवरण, शिक्षक सरुवा तथा उपस्थिति, दिवा खाजा व्यवस्थापन, परीक्षा प्रणाली, स्थानीय पाठ्यक्रमको कार्यान्वयन, प्रयोगात्मक शिक्षा, प्राविधिक धारका शिक्षक तथा प्रयोगशालाको अभाव र शिक्षक दरबन्दी मिलानलगायत विषयमा समस्या तथा सुझाव प्राप्त भएका थिए ।
