काठमाडौं । पछिल्ला दिनमा मायाप्रेम, द्वन्द्व, सुशदु:ख समेटिएको सामाजिक कथामा आधारित चलचित्रलाई दर्शकले रुचाएको देखिएको छ ।
हरितालिका तीज पर्व सरु भएको, वडादसैँ, दीपावलीजस्ता ठूला चाडपर्व आउनै लागेको र समग्रमा मुलुक चाडपर्वमय भएको विद्यमान अवस्थामा सामाजिक कथामा आधिारित चलचित्रलाई दशर्कले रुचाएको देखिन्छ ।
यसैबीच, गत शुक्रबारदेखि सुरु भएको प्रेम कहानीमा आधारित बेहुली चलचित्रले हरितालिका तीजको दिन मात्र रु ७०–८० लाख ‘ग्रस’ व्यापार गरेको वितरक गोविन्द शाहीले जानकारी दिए ।
उनका अनुसार सोमबार देशभरका सिनेमा हलहरूमा करिब १५० ‘शो’ पाएको थियो । अधिकांश हलहरू भरिभराउ भएका र दर्शकदीर्घाबाट उत्साहजनक रूपमा साथ पाइएको छ ।
सो चलचित्रका मुख्य कलाकारहरू पारसबम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ तथा निर्देशक शशान कँडेललगायतको टोली बजार प्रबद्र्धनका क्रममा आज चितवन पुगेको र सो टोलीले क्रमश: देशव्यापी भ्रमण गर्ने कार्यक्रम रहेको निर्माता अर्जुन पोखरेलले जानकारी दिए ।
नेपाली समाजभित्रको यथार्थ भावना, युवा–युवतीको मनोभाव र पारिवारिक मर्मस्पर्शी कथावस्तुमा आधारित सो चलचित्रलाई माधव शर्माले लेखन तथा शशान कँडेलले निर्देशन गरेका हुन् ।
यस्तै, शुक्रबारदेखि नै प्रदर्शनमा आएको अर्को चलचित्र ‘पेन्सन पट्टा’ लाई पनि दर्शकको राम्रो साथ मिलिरहेको निर्देशक माओत्से गुरुङले बताए । उनका अनुसार तीजको दिन चलचित्रले अपेक्षाकृत व्यापार गरिरहेको छ र दर्शकबाट राम्रो पृष्टपोषण प्राप्त गरिरहेको छ । चलचित्रकर्मी दयाहाङ राईको प्रमुख अभिनय रहेको सो चलिचत्रमा सुनिल थापा, बुद्धि तामाङ, विल्सनविक्रम राईलगायतले अभिनय गरेका छन्।
डा कपिल रिजालको ‘गौँथली’ चलचित्र सार्वजनिक भएको धेरै दिन भएपनि दर्शकका साथ रहेको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले जानकारी दिए । तुलनात्मकरूपमा राम्रो कमाइ रहेको सो चलचित्रमा अरुण क्षेत्री, सिमरन खड्कालगायतले अभिनय गरेका छन् ।
