काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले छिमेकी भारतमा सुरु भएको ब्रिक्स सम्मेलनमा नेपाललाई आमन्त्रण नगरिएको विषयलाई प्रधानमन्त्री बालेन साहको कार्यशैलीसँग जोडेर टिप्पणी गरेका छन्।
सामाजिक संजालमार्फत रिजालले भारतले ब्रिक्सका सदस्य नरहेका बेलारुस, काजखस्तान, मलेसिया, थाइल्यान्ड, इरान, इन्डोनेसिया, नाइजेरिया, उज्बेकिस्तान र युगान्डाका नेताहरूलाई ‘ब्रिक्स आउटरिच’ अन्तर्गत निमन्त्रणा गरेको उल्लेख गर्दै नेपाललाई भने आमन्त्रण नगरिएको बताएका छन्।
उनले सन् २०१६ मा भारतको गोवामा भएको यस्तै कार्यक्रममा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएको स्मरण गरेका छन्। उक्त अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दाहालको भेट भएको प्रसंगसमेत उनले उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘१ घण्टा २५ मिनेटको दुरीको नेपाल भने आमन्त्रणमा परेन । जबकी, २०१६ मा यस्तै कार्यक्रममा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवा पुग्नुभएको थियो । एकछिन पर्खिएर बस्दा चिनियाँ राष्ट्रपति सी चिङफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दाहाल परेको संयोगलाई उहाँका छोरा प्रकाशले ’ट्राइलेटरल’ भनेर प्रचार गरेको तस्वीर धेरैलाई याद होला ।’’
नेपाललाई छिमेकीमै आयोजना भएको कार्यक्रममा समेत नबोलाइनुमा प्रधानमन्त्री साहको ‘अविश्वसनीय, गैरकूटनीतिक र असंवेदनशील कार्यशैली’ मुख्य कारण हुनसक्ने उल्लेख गरेका छन् ।
उनले प्रधानमन्त्री साहको व्यक्तिगत समस्या आफूलाई थाहा नभए पनि औपचारिक कार्यक्रममा लामो समय धैर्यतापूर्वक बस्न नसक्ने उनको व्यवहारले देशले मूल्य चुकाउनुपरेको टिप्पणी गरेका छन्।
उनले भनेका छन्, ‘छिमेकमै भएको कार्यक्रममा पनि नेपालको वास्ता नहुनुमा प्रधानमन्त्री बालेन साहको अविश्वनीय, गैरकुटनीतिक र असंवेदनशील कार्यशैलीले मुख्य रुपमा काम गरेको मेरो ठम्याइ छ । बोलाए पनि उहाँ सहभागी हुनुहुन्छ/हुनुहुन्न भन्ने यकिन नै नभएको कुरा पनि चर्चा भयो होला । मुख्यरुपमा बालेन साह कुनै पनि औपचारिक ठाउँमा धैर्यतापूर्वक आधा घण्टा बस्न सक्नुहुन्छ जस्तो लाग्दैन । व्यक्तिगत रुपमा उहाँको के समस्या हो, थाहा छैन । तर, त्यसको मूल्य देशले चुकाउनु परेको महसुस भइरहेको छ ।’
