नयाँदिल्ली । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि राजधानीका बासिन्दाको दैनिक आवागमन प्रभावित भएको छ । प्रमुख सडकमा ब्यारिकेड, जाँचस्थल र ट्राफिक प्रतिबन्ध लगाइनुका साथै हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारले आवागमन सहज बनाउन सार्वजनिक बिदासमेत दिएको छ ।
सरकारी कार्यालय, विद्यालय तथा धेरै निजी व्यवसाय बन्द गरिए पनि कार्यालय जाने कर्मचारी, डेलिभरी चालक र दैनिक ज्यालादारीमा काम गर्नेहरूका लागि प्रतिबन्धले समस्या थपेको छ । सडक बन्द तथा मार्ग परिवर्तनका कारण छोटो दूरीको यात्रा पनि लामो बनेको र कतिपय क्षेत्रमा ट्याक्सी भाडा बढेको बासिन्दाले बताएका छन् ।
अटोरिक्सा चालक नीरज कुमारले प्रतिबन्धको सबैभन्दा ठूलो असर न्यून आय भएका मानिसलाई परेको बताए । “यदि एक किलोमिटरको यात्रा आठ किलोमिटरको चक्करमा परिणत भयो भने हामीले के गर्नुपर्छ ?”, उनले प्रश्न गरे । उनले विदेशी प्रतिनिधिका लागि सुरक्षा व्यवस्था गर्दा त्यसको भार सर्वसाधारणमाथि पर्न नहुने बताए ।
डेलिभरी चालक मोहम्मद एलियासले प्रतिबन्धका कारण काममा पुग्नै कठिन भएको बताए । “हामी काममा पुग्यौँ भने पनि ट्राफिकमा फस्नेछौँ । हामी काम गर्न सक्दैनौँ”, उनले भने ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ र इरानी राष्ट्रपति मसुद पेजेस्कियानलगायत नेताहरू शिखर सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ ।
ब्रिक्समा अहिले ११ देश सदस्य छन् । समूहले विश्वको करिब आधा जनसङ्ख्या तथा विश्वव्यापी ऊर्जा, स्रोत र आर्थिक उत्पादनको ठूलो हिस्सा प्रतिनिधित्व गर्छ । विकासोन्मुख देशहरूको भूमिका बढाउने उद्देश्यले ब्रिक्सले पश्चिमी नेतृत्वको विश्व व्यवस्थाको विकल्पका रूपमा आफ्नो प्रभाव विस्तार गर्दै आएको छ ।
