इ–जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन सांसद दुलालको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सार्वजनिक खरिद प्रक्रियालाई सहज र पारदर्शी बनाउन प्रयोग हुँदै आएको विद्युतीय सरकारी खरिद प्रणाली (इ–जीपी) तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक दुलालले २०७० सालदेखि सञ्चालनमा रहेको इ–जीपी प्रणाली बन्द हुँदा सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक खरिद तथा ठेक्का प्रक्रिया प्रभावित भएको भन्दै सभामुखमार्फत सरकारको ध्यानार्कषण गराए ।

“भदौ, असोज, कात्तिकलगायतका महिनामा सरकारका सार्वजनिक खरिदका ठेक्का लगाउने समय हो । तीन तहका सरकारअन्तर्गतका सयौँ सार्वजनिक खरिद प्रक्रिया अहिले प्रभावित भएका छन,” प्रमुख सचेतक दुलालले भने । उनले इ–जीपी प्रणाली ह्याक भएको भनिएको विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्नसमेत माग गरे ।

“सरकारले इ–जीपी प्रणाली तत्काल पूर्णरूपमा सञ्चालनमा ल्याउनुपर्छ,” प्रमुख सचेतक दुलालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *