प्रधानमन्त्री शाह र निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरूबीच आर्थिक सुधारबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी–व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा पछिल्लो आर्थिक अवस्थाको समीक्षा गर्दै उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोग्दै आएका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना र आर्थिक गतिविधिलाई गति दिने उपायबारे छलफल भइरहेको छ ।

त्यस्तै, निजी क्षेत्रको लगानी विस्तारका लागि आवश्यक नीतिगत सुधार, व्यवसायमैत्री वातावरण निर्माण तथा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल केन्द्रित रहेको जनाइएको छ ।

अर्थतन्त्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्दै लगानीकर्ताको मनोबल बढाउने र उत्पादन तथा रोजगारीका अवसर विस्तार गर्ने विषयलाई बैठकले प्राथमिकतामा राखेको सचिवालयले जनाएको छ ।

सरकार र निजी क्षेत्रबीच प्रत्यक्ष संवादमार्फत समस्या पहिचान गरी समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यले छलफल आयोजना गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *