काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न सेमिफाइनल खेलमा हङकङलाई तीन विकेटले हराउँदै युएई लगातार तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो ।
सेमिफाइनलमा हङकङले दिएको ७१ रनको झिनो लक्ष्य युएईले ११.१ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो । उसका लागि तानिस सुरीले २७, अबीद उस्मानीले १६ तथा अक्षदीप नाथले ११ रन जोडे ।
हङकङका लागि बलिङतर्फ कप्तान यासिम मोर्ताजा, एसहान खान र किञ्चित साहले एक/एक विकेट लिए । त्यसअघि मलेसियाको बाङ्गीस्थित वाइसडी–युकेएम क्रिकेट ओभलको मैदानमा टस हारेर ब्याटिङको मौका पाएको हङकङ ३०.१ ओभरमा ७० रनमै अलआउट भएको थियो ।
उसका लागि जिशान अलीले २८ बलमा एक छक्का र एक चौकासहित सर्वाधिक १७ रन जोडे । बाँकी ब्याटरको प्रदर्शन सम्झनलायक रहन सकेन ।
हङकङलाई सस्तैमा रोक्ने क्रममा युएईका लागि हैदर अलीले १० ओभरमा १४ रन मात्र दिएर सर्वाधिक ६ विकेट लिए । युएईले अब सेमिफाइनल जित्ने टिमविरुद्ध उपाधिका लागि भिड्नेछ ।
आजै भइरहेको अर्को सेमिफाइनलमा नेपाल र ओमान प्रतिस्पर्धा गरिरहेका छन् । खेलमा नेपालले ओमानलाई १४८ रनको लक्ष्य दिएको छ ।
