एजेन्सी । अमेरिकी प्रविधि कम्पनी एप्पलले पहिलोपटक फोल्ड गर्न मिल्ने आईफोन सार्वजनिक गरेको छ । कम्पनीले बुधबार नयाँ डिजाइन, दुईवटा डिस्प्ले तथा शक्तिशाली प्रोसेसरसहित ‘आईफोन डुओ’ सार्वजनिक गरेको हो ।
एप्पलका अनुसार फोल्ड खोल्दा आईफोन डुओमा ७.६ इन्चको भित्री डिस्प्ले उपलब्ध हुन्छ भने फोल्ड गर्दा ५.४ इन्चको बाहिरी डिस्प्ले प्रयोग गर्न सकिन्छ । दुवै डिस्प्लेमा प्रोमोशन, अलवेज–अन फङ्सन तथा उच्च ब्राइटनेसको सुविधा रहेको कम्पनीले जनाएको छ ।
भित्री डिस्प्लेमा नानो–टेक्स्चर फिनिस प्रयोग गरिएको छ, जसले प्रकाशको परावर्तन कम गर्नुका साथै डिस्प्लेमा देखिने क्रिजलाई न्यून गर्न सहयोग गर्ने एप्पलको दाबी छ ।
आईफोन डुओ ग्रेड–५ टाइटेनियमबाट निर्माण गरिएको छ । यसमा नयाँ डिजाइनको हिन्ज प्रयोग गरिएको छ भने धुलो तथा पानीबाट सुरक्षाका लागि आईपी६८ रेटिङ दिइएको छ ।
फोनमा एप्पलको नयाँ ए२० प्रो चिप प्रयोग गरिएको छ । कम्पनीका अनुसार नयाँ थर्मल व्यवस्थापन प्रणालीसहितको चिपले लामो समयसम्म उच्च प्रदर्शन कायम राख्न सहयोग गर्नेछ ।
क्यामेरातर्फ आईफोन डुओमा ४८ मेगापिक्सेलको फ्युजन मेन र ४८ मेगापिक्सेलकै फ्युजन अल्ट्रा–वाइड क्यामेरा राखिएको छ । फोल्डेबल डिजाइनलाई ध्यानमा राख्दै एप्पलले ‘स्मार्ट टेक’, ‘डुओ प्रिभ्यु’ तथा ‘डुओ फेसटाइम’ जस्ता नयाँ क्यामेरा फिचरसमेत उपलब्ध गराएको छ ।
आईफोन डुओमा आईओएस २७ प्रयोग गरिएको छ । ठूलो स्क्रिनको फाइदा उठाउन यसमा दुईवटा एप एकैपटक चलाउन सकिने ‘स्प्लिट भ्यु’ सहितका मल्टिटास्किङ सुविधा थप गरिएको छ ।
फोनमा एप्पल इन्टेलिजेन्स तथा नयाँ सिरि एआई सुविधासमेत उपलब्ध छन् । यसले प्रयोगकर्तालाई थप व्यक्तिगत तथा संवादात्मक ढंगले सहयोग गर्ने एप्पलले जनाएको छ ।
आईफोन डुओमा डुअल ब्याट्री प्रणाली प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले भित्री डिस्प्लेमा ३१ घण्टासम्म र बाहिरी डिस्प्लेमा ४४ घण्टासम्म भिडियो प्लेब्याक प्रदान गर्न सक्छ ।
आईफोन डुओ स्टार ह्वाइट र नाइट स्काई गरी दुई रङमा उपलब्ध हुनेछ । २५६ जीबीदेखि २ टीबीसम्मको स्टोरेज विकल्प रहेको फोनको अमेरिकी बजारमा सुरुवाती मूल्य १ हजार ९९९ अमेरिकी डलर तोकिएको छ ।
फोनको प्रि–अर्डर अक्टोबर १६ देखि सुरु हुनेछ भने अक्टोबर २३ देखि ७० भन्दा बढी देश तथा क्षेत्रमा बिक्री सुरु हुने एप्पलले जनाएको छ ।
