मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने आगामी शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय बैठक गर्ने सम्भावनाबारे छलफल गरेको क्रेमलिनले बुधबार जनाएको छ ।
एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक)को शिखर सम्मेलन आगामी नोभेम्बर १८ र १९ मा चिनियाँ सहर शेन्जेनमा आयोजना हुँदैछ ।
रुसले पुटिन शिखर सम्मेलनमा सहभागी हुने सङ्केत गरिसकेको छ। यद्यपि, ट्रम्प सम्मेलनमा सहभागी हुने वा नहुनेबारे ह्वाइट हाउसले अहिलेसम्म घोषणा गरेको छैन ।
मङ्गलबार भएको टेलिफोन वार्ताका क्रममा ट्रम्प र पुटिनबीच शेन्जेनमा सीसँग त्रिपक्षीय बैठक गर्ने विषयमा छलफल भएको हो कि होइन भन्ने प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ‘निस्सन्देह’ भन्दै पुष्टि गरे ।
“यस सम्भावित विषयबारे यसअघि पनि छलफल भइसकेको छ र त्यस्तो अवसर आउनेछ,” पेस्कोभले एएफपीलगायत पत्रकारलाई बताए ।
सन् १९८० को दशकमा स्थापना भएको एपेक एसिया–प्यासिफिक क्षेत्रमा आर्थिक सहयोगका लागि प्रमुख अन्तरसरकारी मञ्च हो। रुस, चीन र अमेरिका पनि यसका सदस्य हुन् ।
नोभेम्बरमा हुने शिखर सम्मेलन यस्तो समयमा हुँदैछ, जतिबेला वासिङ्टनले रुसलाई युक्रेन युद्ध अन्त्य गर्न दबाब दिइरहेको छ भने मस्को र बेइजिङबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएको छ ।
अमेरिकी दूतहरूले गत साता मस्को र किएभ दुवैको भ्रमण गरेका थिए। यद्यपि, उनीहरूले युक्रेन युद्ध अन्त्य गर्नेसम्बन्धी वार्तामा कुनै ठोस प्रगति भएको घोषणा गरेका छैनन् ।
