काठमाडौं । एसीसी प्रिमियर कप-२०२६ मा नेपालले पहिलो हार बेहोरेको छ । मंगलबार दिउँसो भएको लिगचरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङ, चीनसँग १५ रनले पराजित भएको हो ।
जितको लागि २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९.१ ओभरमा अलआउट हुँदै २ सय ४६ रनमात्र बनाउन सक्यो । नेपालको लागि इशान पाण्डेले अर्धसतक बनाए । उनले १ सय ६ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ९० रन बनाए । यस्तै आसिफ शेखले ४४, दीपेन्द्र सिंह एरीले २५, करण केसीले २१, गुलसन झाले २० र अर्जुन कुमालले १४ रनको योगदान गरे ।
हङकङ, चीनको लागि अजाज खानले १० ओभरमा एक मेडन राख्दै ५० रन दिएर ४ विकेट लिँदा यासिम मुर्तजाले दुई तथा अतिकुल इकबाल र किन्चित देभाङ शाहले एक विकेट लिए ।
यसअघि क्वालालम्पुरस्थित बायेमास क्रिकेट ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको हङकङ, चीनले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६१ रन बनाएको थियो । हङकङ, चीनलाई बलियो योगफलमा पुर्याउन हायातले अवजित सतक बनाए । उनले १ सय २६ खेल खेल्दै ७ चौका र ७ छक्काको मद्दतमा १ सय १७ रन बनाएका हुन् । यस्तै शहिद वासिफले ४५, इशान खानले ३५, जेशन अलीले १५ र अन्शुमन रथले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नेपालको लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४४ रन दिएर ४ विकेट लिए । यस्तै शेर मल्लले १० ओभरमा २७ रन दिएर तीन विकेट लिए । अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।
हारका बावजुत नेपाल ४ खेलबाट ६ अंक जोड्दै समूह ‘ए’को विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । हङकङ, चीनपनि समान खेलबाट समान ६ अंक जोड्दै नेट रनरेटमा पछाडि रहँदै दोस्रो स्थानमा रहेर अन्तिम चारमा पुगेको छ ।
अब नेपालले सेमिफाइनलमा समूह ‘बी’को उपविजेता ओमान तथा हङकङ, चीनले समूह ‘बी’को विजेता युएईसँग प्रतिस्पर्धा गर्नेछ ।
