चीनको चौथो चरणको राहत सामग्री काठमाडौंमा

काठमाडौं । चीन सरकारले नेपाललाई प्रदान गरेको आपत्कालीन राहत सामग्रीको चौथो खेप मंगलबार दिउँसो काठमाडौं आइपुगेको छ । चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाइ २० ए ठूलो क्षमताको मालवाहक विमानमार्फत उक्त राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।

राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत महामहिम झाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री माननीय महावीर पुन सहभागी हुनुभएको थियो ।

यसपटक चीनबाट पठाइएको राहत सामग्रीमा मुख्य रूपमा उद्धारका लागि प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिल स्थायी चुम्बकीय बाढी पम्प, अतिरिक्त ब्याट्री, शव संरक्षणका लागि फ्रिजर तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्तीहरू रहेका छन् ।

नेपालका विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्रीलाई प्राथमिकतामा राखेर यी राहत सामग्री पठाइएको हो । उक्त सामग्रीले बाढी तथा अन्य विपद्का कारण प्रभावित क्षेत्रमा आपत्कालीन उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विशेषगरी होभरक्राफ्ट र बाढी पम्पजस्ता उपकरणले जलमग्न तथा कठिन भूभागमा उद्धार कार्य सञ्चालन गर्न सहयोग पुर्‍याउनेछन् भने सौर्य बत्ती र अन्य सामग्रीले विपद्पछिको राहत तथा पुनःस्थापना कार्यमा समेत सहयोग पुर्‍याउनेछन् ।

चीनबाट प्राप्त यस पछिल्लो राहत सहयोगले नेपालमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार क्षमतामा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *