काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल एक्लो नरहेको बताएका छन्।
अस्ट्रेलियाली संसद्लाई सम्बोधन गर्दै उनले बाढीपछि ३६ जना अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेको जानकारी दिए।
भदौ १० मा गएको पहिरोपछि आएको बाढीले नेपाल र चीनको तिब्बत सीमा क्षेत्रको दुवैतर्फ ठूलो क्षति पुर्याए पनि नेपालले यसको सबैभन्दा ठूलो मार खेप्नुपरेको उनले बताए।
‘धेरैले आफ्ना प्रियजन, घर, गाउँ र जीविकोपार्जन गुमाएका छन्। दिन बित्दै जाँदा बेपत्ताहरूलाई फेला पार्ने आशा चमत्कारको आशाजस्तै बन्दै गएको छ,’ अल्बानिजले संसदमा भने।
बेपत्ता ३६ अस्ट्रेलियाली नागरिकका परिवार तथा आफन्तप्रति अस्ट्रेलियाली जनताको ध्यान केन्द्रित रहेको उनले बताए।
उनले गत शुक्रबार नेपालका प्रधानमन्त्री बालेन साहसँग टेलिफोन वार्ता गरी अस्ट्रेलियाको तर्फबाट गहिरो समवेदना व्यक्त गरेको जानकारी दिए।
‘नेपालले आज राष्ट्रिय शोक मनाइरहेको अवस्थामा हाम्रा नेपाली साथीहरूलाई भन्न चाहन्छु—यो दुःखको भार वहन गर्ने क्रममा तपाईंहरू एक्लो हुनुहुन्न, उनले भने।
अल्बानिजले अस्ट्रेलियाली सरकारले त्यहाँ रहेका नेपाली, तिब्बती र भारतीय समुदायसँग निरन्तर समन्वय गरिरहेको बताए। उनले विपद्बाट प्रभावितप्रति आशा नछाड्न र उनीहरूका लागि प्रार्थना गर्न पनि अस्ट्रेलियाली नागरिकलाई आग्रह गरे।
विपद् राहतका लागि अस्ट्रेलियाली जनताले देखाएको सहयोग र उदारताको प्रशंसा गर्दै उनले यसले साझा मानवीय भावनाका साथ एकजुट भएर ठूलोभन्दा ठूलो विपद्को सामना गर्न सकिने सन्देश दिएको बताए।
